धनगढी पोष्ट आइतबार, ०४ माघ २०८२   January 18, 2026

यो वर्ष पाठ्यक्रमका सबै विषय पढाइ हुँदैन : शिक्षामन्त्री

काठमाडौं

   शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले नोवेल कोरोना भाइरसले गर्दा यो वर्षको पाठ्यक्रम खुम्च्याईएको बताएका छन् ।

 शैक्षिक सत्रको साढे चार महिना बितीसकेकाले पाठ्यक्रममा अत्यावश्यक बाहेकका विषयवस्तु पढ्न नपर्ने उनले शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा जानकारी दिए ।

 ‘हाललाई अत्यावश्यक विषयवस्तु समेट्ने गरी पाठ्यक्रमको संस्लेषित कार्यढाँचा जारी गरिने छ, मन्त्री पोखरेलले भने– ‘यही भाद्र महिनाभित्र हामी संस्लेषित पाठ्यक्रम  विद्यालयहरुलाई उपलब्ध गराउने छौं ।

   अत्यावश्यक कुरा मात्रै राखेर पाठ्यक्रम बनाउन विषयगत टोलीहरूले कार्य प्रारम्भ गरिसकेको पनि उनले जानकारी  दिए । मन्त्री पोखरेलले विद्यार्थी विद्यालयसम्म जाने अवस्था नरहेकाले शिक्षक नै विद्यार्थीसम्म पुग्नुको विकल्प नरहेको बताए ।

 उनले भने– ‘विद्यार्थीहरूले घरमै बसेर पुस्तक अध्ययन गर्ने, शिक्षकले दिएका परियोजना कार्य गर्ने, गृहकार्य गर्ने, रेडियो सुन्ने, टेलिभिजन हेर्ने, इन्टरनेटका सामग्री अध्ययन गर्ने, अनलाइन कक्षा लिने मध्ये कुन कुन विकल्प अपनाउन सकिन्छ, सोही विकल्प अपनाएर अध्ययनलाई अघि बढाउनु पर्दछ ।