धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

रामारोशन बाढीमा बेपत्ता भएका ९ जना अझै भेटिएनन्

धनगढी

  अछामको रामारोशन गाउँपालिका–५ सैनीवजार स्थित कैलाश खोलामा आएको बाढीले वगाएका मध्ये नौ जना अझै फेला परेका छैनन् ।

  भदौ २ गते राति परेको अबिरल बर्षासंगै आएको बाढीले मध्यरातमा सैनीबजारका १७ जनालाई बगाएको थियो । उनीहरुमध्ये नौ जना अझै फेला नपरेका जिल्ला प्रहरी कार्यालय अछाममा प्रहरी नायव उपरीक्षक योगेन्द्र सिंह थापाले बताए  ।

 प्रहरीका अनुसार रामारोशन–५ का ४७ बर्षीय नन्दु साउद, ४५ बर्षीया गंगा साउद, ६ बर्षीया प्राप्ती साउद, करीव ६० बर्षीया जोगा साउद र ४० बर्षीया पवित्रा देवी शाह वेपत्ता  छन् । ४ बर्षीय समिर शाह, ४५ बर्षीया वसुन्धारा साउद, ९ बर्षीय वसन्त शाही र करीव ७० बर्षीया बीमा देवी साउद पनि भेटिएकी छैनन् ।  बाढीमा बगेका ४५ बर्षीय अम्मर शाह , २९ बर्षीया सम्झना शाह, ३२ बर्षीया गौरी शाह, ४८ बर्षीय चन्द्र साउद र ४५ बर्षीया लालसरा शाहीको शव ६ र ७ गते फेला परेको थियो ।

 बेपत्ताहरुको खोजी जारी रहेको रामारोशन गाउँपालिका–५ का वडाध्यक्ष लक्ष्मण दमाईले जानकारी दिए । ‘हामी पनि खोजी गरिरहेका छौं, प्रहरी प्रशासनले पनि खोजतलास जारी राखेको छ’ वडाध्यक्ष दमाईले भने– ‘तर भेटिने सम्भावना न्यून छ ।’ खोलाले ठुल्ठुला ढुङ्गा समेत वगाएर ल्याएको र ढुङ्गाभित्र च्यापिएको आशंका उनको छ ।

 


ट्रेन्डिङ