काठमाडौ
प्रभावकारी खोप पत्ता लाग्नु पूर्व विश्वमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या २० लाख पुग्न सक्ने चेतावनी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दिएको छ ।
डब्लुएचओको आपतकालीन सेवाका प्रमुख डा. माइक रायनले अन्तर्राष्ट्रिय रुपमा महामारीविरुद्ध एकीकृत र प्रभावकारी काम नभएमा ज्यान गुमाउनेको संख्या अधिक हुन सक्ने बताएका हुन् ।
गएको वर्षको अन्त्यतिर चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म विश्वमा झण्डै १० लाख मानिसको ज्यान गएको छ ।
संक्रमण फैलिने क्रमम निरन्तर जारी रहँदा विश्वभर संक्रमितको संख्या तीन करोड २० लाख भन्दा बढी पुगेको छ । गृष्म ऋतु आउँदै गर्दा उत्तरी गोलार्धका धेरै देशमा कोरोना भाइरस महामारीको दोस्रो लहर सुरु भएको छ । अहिलेसम्म अमेरिका, भारत र ब्राजिल विश्वका सबैभन्दा बढी प्रभावित देश हुन् । यी तीन देशमा गरेर एक करोड ५० लाख भन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ ।