धनगढी पोष्ट आइतबार, ०४ माघ २०८२   January 18, 2026

चण्डिका ग्रुपद्वारा एलपिएलको मुख्य प्रायोजन गर्ने सहमति

चण्डिका ग्रुपद्वारा एलपिएलको मुख्य प्रायोजन गर्ने सहमति

 

धनगढी

 पाँचौ संस्करणको लिटल फ्लावर प्रिमियर लिग क्रिकेट प्रतियोगिता लाई चण्डिका ग्रुपले मुख्य प्रायोजन गर्ने भएको छ ।

 शनिबार आयोजक लिटल फ्लावर स्पोर्टस एण्ड ईभेन्ट्स  प्रालि र चण्डिका ग्रुप विच एलपिएलमा मुख्य प्रायोजन गर्ने सहमति भएको हो । लिटल फ्लावर स्पोर्टस एण्ड ईभेन्ट्स प्रालिका अध्यक्ष रामचन्द्र शाहीका अनुसार टिकापुर स्थित चण्डिका ग्रुपले फागुन १५ देखि २४ गतेसम्म धनगढीमा हुने एलपिएलको पाँचौ संस्करणमा मुख्य प्रायोजन गर्ने सहमति भएको हो । मुख्य प्रायोजनको टुङ्गो संगै फागुन १५ देखी सुरु हुने पाँचौं संस्करणको नाम चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग रहने अध्यक्ष शाहीले बताए ।

 लिटिल फ्लावर स्पोटर्स एन्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले प्रतियोगिताको तयारी तिव्र रुपमा भईरहेको जानकारी दिए । विद्यालय स्तरबाटै खेलाडी उत्पादन गर्न हामीले प्रतियोगिता आयोजना गर्ने गरेका छौँ । उनले भने– ‘यस पटकको लागि हामीसँग चण्डिका ग्रुप जोडिएको छ, यस्तो संकटमा मुख्य प्रायोजक पाउँदा प्रतियोगितालाई सफलतापुर्वक आयोजना गर्न हौसला मिलेको छ ।

 लिग कम नक आउटमा खेलाइने प्रतियोगिता धनगढी स्थित संघीय प्रहरी इकाईको खेल मैदानमा सञ्चालन हुने छ । प्रतियोगितामा कक्षा १० सम्म पढ्दै गरेका १९ बर्ष मुनीका खेलाडी तथा प्रत्यक टिममा २ जना राष्ट्रिय स्तरका खेलाडीलाई सहभागिता गराउन पाइने व्यवस्था गरिएको छ । प्रतियोगितामा देशभरका १२ विद्यालयले सहभागिता जनाउने छन् ।

 प्रतियोगितामा यस बर्ष पुरस्कार राशी भने घटाइएको अध्यक्ष शाहीले जानकारी दिएका छन् । कोरोना संक्रमणका कारण पुरस्कार राशी घटाइएको उनले बताए । यस बर्ष प्रतियोगिता सञ्चालन गर्न निक्कै कठिन भएपनि खेललाई निरन्तरता दिन जोखिम मोलेर प्रतियोगिता सञ्चालन गरिएको उनले बताए ।

 गत बर्ष सम्पन्न चौथो संस्करणमा प्रथम हुने टोलीले दुई लाख र उपविजेताले एक लाखा पुरस्कार वितरण गरिएकोमा पाँचौ संस्करणमा विजेतालाई एक लाख र उपविजेतालाई ५० हजार पुरस्कारको व्यवस्था गरिएको उनले बताए ।