धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

प्रदेश लिग खेल्ने स्टार सिटीलाई निसर्ग हस्पिटलको साथ

प्रदेश लिग खेल्ने स्टार सिटीलाई निसर्ग हस्पिटलको साथ

धनगढी

   सुदूरपश्चिम प्रदेश लिग खेल्ने तयारीमा रहेको स्टार सिटी युवा क्लबलाई धनगढीको हसनपुरमा रहेको निसर्ग हस्पिटलले साथ दिएको छ ।

  कैलाली जिल्ला च्याम्पीयन बनेको क्लब प्रदेश लिग खेल्ने तयारीमा रहेको अवस्थामा निसर्ग अस्पतालले मुख्य प्रायोजक भएर साथ दिएको   हो । क्लबको नाम अब निसर्ग स्टार सिटी युवा क्लब रहनेछ । यस्तै क्लबको सह–प्रायोजकमा एमएनएस ग्रुप रहेको छ ।

 २०७१ सालमा स्थापना भएको क्लब दुई पटक जिल्ला च्याम्पीयन बनेको छ । यसैबीच क्लबले प्रदेश लिग खेल्ने जर्सी सार्वजनिक गरेको छ । धनगढीमा जर्सी अनावरण कार्यक्रम गर्दै क्लबले जर्सी सार्वजनिक गरेको हो । स्टार सिटी युवा क्लबका अध्यक्ष कुमार शाहीको अध्यक्षतामा भएको कार्यक्रममा क्लबको मुख्य प्रायोजक निसर्ग अस्पतालका अध्यक्ष तिर्थ पन्त र अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य प्रकाश विष्ट लगायतले जर्सी सार्वजनिक गरेका छन् । त्यसैगरी कार्यक्रममा क्लबले कुवेर सिंहको कप्तानीमा प्रदेश लिग खेल्ने टीमको पनि घोषणा गरेको छ ।

सुदूरपश्चिम प्रदेशमा प्रदेश लिग माघ २९ र फागुन १ गते हुने भएको छ । होम एण्ड अवेका आधारमा प्रदेशका दुई जिल्लाका च्याम्पीयन टीमहरुका बीचमा प्रदेश लिग   हुनेछ । सुदूरपश्चिम प्रदेशमा एन्फामा आबद्ध दुई वटा जिल्ला संघ रहेका छन् ।

 कैलाली र कञ्चनपुरमा रहेका जिल्ला च्याम्पीयनहरुले प्रदेश लिगमा सहभागीता जनाउनेछन् ।  कैलालीबाट जिल्ला च्याम्पीयन स्टार सिटी युवा क्लब भएको छ भने कञ्चनपुरबाट दिपज्योती युवा क्लब भएको छ ।

 सुदुरपश्चिम प्रदेश लिग विजेता टोलीले देशका सात वटै प्रदेशका विजेताहरु बीचमा हुने प्रेसिडेन्ट कप  खेल्नेछ । त्यसमा उत्कृष्ट चारमा पर्न सफल भएका चार प्रदेशहरुले राष्ट्रिय लिगमा सहभागीता जनाउनेछन् । सहिद स्मारण ए डिभिजन लिगका उत्कृष्ट ६ र प्रेसिडेन्डट कपका उत्कृष्ट चार गरी १० क्लबले राष्ट्रिय लिगमा सहभागीता जनाउने एन्फाले जनाएको छ ।


ट्रेन्डिङ