धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

निसर्ग हस्पिटलमा पहिलोपटक नाकभित्रको ट्युमरको अप्रेसन

सुदूर र मध्यपश्चिममै पहिलोपटक नाकभित्र रहेको एकदम कम मानिसहरुमा हुने जटिल प्रकारको यति ठूलो ट्युमर पहिलो पटक निकालिएको अस्पतालका अध्यक्ष तीर्थराज पन्त बताउँछन् ।

निसर्ग हस्पिटलमा पहिलोपटक नाकभित्रको ट्युमरको अप्रेसन

धनगढी । धनगढीमा रहेको सुदूरपश्चिमकै सुविधासम्पन्न निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टरमा नाकभित्र रहेको ट्युमरको अप्रेसन सफलतापुर्वक सम्पन्न भएको छ।

सुदूर र मध्यपश्चिममै पहिलोपटक यसखालको अप्रेसन सफल भएको अस्पतालले जनाएको छ । 

कैलालीको गौरीगंगा नगरपालिका ११ का १३ वर्षीय प्रितम चौधरीको नाकको भित्री भागमा रहेको  ८×४ सेन्टिमिटर लामो ट्युमरको शल्यक्रिया सफल भएको अस्पतालले जनाएको छ ।

नाक, कान तथा घाटीरोग विशेषज्ञ डाक्टर सुमन थापा, मुख, अनुहार तथा बङ्गरा रोग बिशेषज्ञ डा दीपक ठकुराठी, एनेस्थेसियोलोजिस्ट डा हेमन्त ओझा लगायतको टिमले चार घण्टा लगाएर शल्यक्रिया सफल पारेका हुन् । 

गत माघ १५ गते नाकबाट निरन्तर रगत आएपछि उनी उपचारका लागि निसर्गमा पुगेका थिए । त्यसबखत अस्पतालले उनलाई रेफर गरेको थियो ।

अस्पतालमा उपकरण र डाक्टरको अभाव भएकाले उनलाई काठमाडौं जान भनिएको बिरामीका बुवा डाक्टर चौधरीले बताए ।

गम्भिर खालको बिरामी भएकाले काठमाडौं जान सल्लाह दिइएको अस्पतालले जनाएको छ । काठमाडौंमा सीटी स्क्यान गर्दा  नाकभित्र मासुको डल्लो देखिएको र त्यहाँका डाक्टरले औषधि चलाएको उनका बुवा चौधरीले बताए ।

‘केही समय ठिक भयो तर फेरि छोराको बिराम बल्झियो’, बुवा डाक्टर चौधरीले भने, ‘यस्तो लकडाउनको बेला कहाँ जानु, यहाँ केही भइहाल्छ कि भनेर लिएर आएँ, अहिले त अप्रेसन नै यहाँ भयो । छोरालाई निको भएको छ । आज घर लगेर जाँदैछु ।’

प्रिंतम चौधरीको नाकभित्र ८×४ सेन्टीमिटरको ट्युमर भएको र त्यसलाई मेडिकल भाषामा एन्जिओफिब्रोमा (ANGIOFIBROMA) भनिने शल्यक्रियामा संलग्न डा सुमन थापाले बताए।

कसरी भयो शल्यक्रिया ?

मुख, अनुहार तथा बङ्गारा रोग विशेषज्ञ डा दीपक ठकुराठी भन्छन्, ‘दुरबिनले सम्भब नभएकाले नाकको एक छेउबाट चिरेर ट्युमर निकालियो । यो यस क्षेत्रमै पहिलो पटक गरिएको अप्रेसन हो ।’

उनका अनुसार बिरामीको नाकबाट पहिले नै रगत धेरै बगिसकेको थियो । जसका कारण बिरामीको शरीरमा हेमोग्लोबिनको मात्रा ५.५ मात्र थियो । ‘हामीले २ पिन्ट (पोका) रगत दिएर अप्रेशन गरेका हौँ’, डा ठकुराठीले भने ।

सुदूर र मध्यपश्चिममै पहिलोपटक नाकभित्र रहेको एकदम कम मानिसहरुमा हुने जटिल प्रकारको यति ठूलो ट्युमर पहिलो पटक निकालिएको अस्पतालका अध्यक्ष तीर्थराज पन्त बताउँछन् ।

कोराना कालमै पनि निसर्गले जटिल प्रकारका सल्यक्रिया गर्दै आएको उनले बताए ।  निसर्ग हस्पिटलमा यतिबेला नाक, कान, घाँटीरोग विशेषज्ञ डाक्टरको सेवा २४ सै घण्टा उपलब्ध भएको अध्यक्ष पन्तले जानकारी दिए । 

 

 


ट्रेन्डिङ