धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सन्तोष मेडिको प्रा.लिमा प्रहरीको छापा, एक जना पक्राउ

धनगढीको एलएनचौकमा पक्राउ परेको व्यक्तिले सन्तोष मेडिकोबाट औषधी किनेको बताएपछि प्रहरीले उक्त पसलमा छापा मारेको थियो ।

सन्तोष मेडिको प्रा.लिमा प्रहरीको छापा, एक जना पक्राउ

धनगढी ।  चिकित्सकको स्विकृती बिना औषधि खरिद बिक्री गरेको आरोपमा प्रहरीले धनगढीको सन्तोष मेडिको प्रालिका एक जनालाई पक्राउ गरेको छ ।

छापा हान्दा स्पास्मो २०२ टयाब्लेट, पर्लिन–७५ का २९७ क्याप्सुल र प्रेग्यास्टार–१५० का ६१५ क्याप्सुल फेला पारेपछि सन्तोष मेडिकोमा कार्यरत  धनगढी–५ का करन चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए ।

धनगढीको एलएनचौकमा पक्राउ परेको व्यक्तिले सन्तोष मेडिकोबाट औषधी किनेको बताएपछि प्रहरीले उक्त पसलमा छापा मारेको थियो ।

आइतबार बिहान धनगढी उप–महानगरपालिका वडा नम्बर १ एलएन चोक सडकखण्डमा साईकलमा गइरहेका धनगढी–१३ का २१ वर्षीय सोमराज जोशीलाई अवैध औषधि सहित पक्राउ गरिएको थियो ।

प्रहरीले उनको साथबाट चिकित्सकको स्विकृती बिना खरिद गरिएको स्पास्मो २० ट्याब्लेट, पर्लिन–७५ का २ क्याप्सुल र प्रेग्यास्टार–१५० लेखेको १२ क्याप्सुल बरामद गरेको थियो । अनुसन्धानका क्रममा उनले ती औषधि धनगढी–१ स्थित अस्पताल लाइनमा रहेको सन्तोष मेडिको प्रालिबाट खरिद गरेको भन्ने जानकारी दिएका थिए ।

प्रहरी नायब उपरिक्षक बिष्टले बरामद औषधी र पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीका लागि औषधि व्यवस्था विभाग नेपालगञ्ज पठाउने तयारी भइरहेको बताए  ।


ट्रेन्डिङ