बैतडीको दोगडाकेदारमा नहर भत्केर रोपाई रोकियो

बैतडीको दोगडाकेदारमा नहर भत्केर रोपाई रोकियो

धनगढी

बैतडीको दोगडाकेदार गाउँपालिका६ पञ्ज्युनयाँमा खोलाले नहर बगाउँदा धान रोपाई रोकिएको छ ।

असार २५ गते स्थानीय जमाडी नदीमा आएको बाढीले नहर बगाएपछि केही जमिन रोपाई गर्न बाँकी रहेको स्थानीयले जानकारी दिएका छन् ।

जमाडी नदीमा आएको बाढीले नहरको बाँध भत्काएको स्थानीय बीरसिंह कार्कीले बताए । बाढीले नहरको बाँध भत्काएपछि सिँचाईको समस्या भएको छ उनले भने–‘नहर भत्काएपछि केही जमिन बाँझो रहेको छ ।

उनका अनुसार पञ्ज्युनयाँमा मकै काटेर रोपाँई गर्ने गरिन्छ । नहरको बाँध भत्किएपछि मकै लगाएको जमिन बाँझै रहेको छ । नहर भत्किएपछि सिंचाई अभावका कारण रोपेको धान समेत सुक्ने चिन्ता बढेको उनले बताए । 

स्थानीयका अनुसार भत्केको नहरबाट पञ्ज्युनयाँमा ८० परिवारले खेत सिंचाई गर्ने गरेका थिए । नहरको बाँध भत्किएपछि सिँचाईको समस्या भएको स्थानीय रतन कार्कीले बताए ।

बाढीले पुरै बाँध भत्काएपछि नहरमा पानी ल्याउन समस्या भएको उनले बताए । नहर नभएपछि पानी नआउँदा सिँचाईको समस्या भएको छ उनले भने–‘केही जमिन बाँझै रहेको छ भने रोपेको धान पनि सुक्ने चिन्ता छ ।