धनगढी पोष्ट आइतबार, १२ असोज २०८३   September 27, 2026

बिवादै बिवादवीच सकियो एनआरएनए डेनमार्कको अधिवेशन

अगष्ट ७ मा निर्वाचन हुने

बिवादै बिवादवीच सकियो एनआरएनए डेनमार्कको अधिवेशन

कोपनहेगन (डेनमार्क) । बिवादको मुल चुरो ‘स्वतन्त्र मनोनित’ शीर्षकलाई बिधानबाट हटाउँदै गैर आवासीय नेपाली संघ (एनआरएनए) डेनमार्कको छौटौं अधिवेशन शनिबार सम्पन्न भएको छ ।

शारीरिक र भर्चुअल माध्यमबाट भएको  अधिवेशनले अध्यक्षको प्रस्तावमा दुई महिलालाई कार्यसमितिमा मनोनित गर्न सक्ने व्यवस्था पारित गरेको छ ।  यसअघि विधानमा अध्यक्षको प्रस्तावमा कार्य समितिले दुइ महिला सहित चार जना कार्य समिति सदस्यमा मनोनित गर्न सक्ने व्यवस्था रहेको थियो ।

अधिवेसनले अब एक जना अनिवार्य महिला सह–कोषाध्यक्ष पद हुनु पर्ने प्रस्तावलाई समेत अनुमोदन गरेको छ । १९ जनाको कार्य समितिमा अब ७ जना महिला अनिवार्य हुनेछन् भने सल्लाहकारमा समेत दुइ जना महिला अनिवार्य गरिएको छ । आफुहरुको संघर्षका कारण अब समिति र सल्लाहकारमा महिलाको सहभागीता उल्लेख्य हुने जनाउँदै उपाध्यक्ष अन्जु पराजुलीले महिलाहरुलाई अगाडी आउन अनुरोध गरिन्  ।

  शाखा अध्यक्ष र गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद (केन्द्रिय समिति ) मा छानिएर जान पाउने सदस्य पदका लागि उम्मेदवार बन्न कार्य समितिमा एक कार्यकाल काम गरेको हुनु पर्ने बैधानिक व्यवस्था छ । सो व्यवस्थाका कारण शाखाको अध्यक्ष र केन्द्रिय सदस्यमा उमेदवारी हुनका लागि पुरुषहरु कार्य समिति सदस्य पदमा मनोनित हुन हर प्रयास गर्छन् ।

 ‘खुला मनोनित व्यवस्थाले सस्थामा पटक पटक बिबाद उत्पन्न भयो’ महिला मनोनितमा कहिल्यै बिवाद नभएको उल्लेख गर्दै विधान संसोधन उप–समितिका संयोजक सुर्य प्रकाश खनालले भने  ‘त्यसैले महिलालाई प्रोत्साहन गर्दै बाँकी खुलाका दुइ जनाको हकमा अन्त्य गर्न खोजेको हो ।’

   एनआरएनए अध्यक्ष रविन्द्र खड्काको अध्यक्षतामा भएको खुला सत्रमा कार्यवाहक राजदुत तीर्थराज अर्याल, एनआरएनएका केन्द्रिय सदस्य रमेश काफ्ले, पुर्व सदस्यहरु लोकराज शर्मा र प्रविण प्रजापति, क्रिएटिभ नेपलिज वोमनकी अध्यक्ष श्रेया महर्जनले मन्तव्य  व्यक्त गरेका थिए  ।

अगष्ट ७ तारिख हुने एनआरएनए डेनमार्कको नयाँ कार्य समितिका लागि १७ पदमा २८ जनाले उमेदवारी दिएका छन् ।

यसैगरी आइसीसी सदस्य (केन्द्रिय सदस्य) अशोक शर्मा, महिला अपाध्यक्ष जमुनादेवी रिजाल कंडेल, महिला संयोजक मनिषा सिंह कोइराला, युवा प्रतिनिधि गरुदत्त लामिछाने र महिला सदस्यहरु रितादेवी कंडेल मिश्र र बिमला शर्मा खरेल निर्बिरोध निर्वाचित भए । अध्यक्षका प्रत्यासी चारजना मध्ये गोविन्द पौडेलले फिर्ता लिएका छन् । अब शैलेन्द्र अधिकारी, दिपकराज रिजाल र शिव कार्कीबीच अध्यक्षका लागि निर्वाचन हुनेछ । उपाध्यक्षमा चन्द्रमणी पौड्याल, राधाकृष्ण सापकोटा र सुनिल विराजी यादवले उम्मेदवारी दिएका छन् ।

 त्यस्तै महासचिवमा महेश सिंह खत्री, नवराज आचार्य र रघवेन्द्र प्रताप सिंह कार्कीको उमेदवारी छ । आचार्यले उमेदवारी फिर्ता लिएका छन् । सचिवमा तिलकराज भट्ट र शालिकराम शर्माको उमेदवारी छ भने कोषाध्यक्षमा मोहन केसी र कृष्ण प्रसाद पराजुलीको रहेको छ । खुल्ला पाँच सदस्यमा सात जना पुरुषको उमेदवारी परेको छ ।

 

 


ट्रेन्डिङ