धनगढी
भारतीय एसएसपिका जवानले तुईन काटेर युवकलाई महाँकाली नदीमा खसाएको विपषयमा छानविन गर्न गृहमन्त्रालयले गठन गरेको छानविन समितिले आज स्थानीय प्रत्यक्ष दर्शि संग कुरा गर्ने तयारी गरेको छ ।
सोमबार काठमाण्डौंबाट हिडेको छानविन समितिको टोली मंगलबार (आज) दार्चुला पुगेको हो । दार्चुला सदरमुकाम पुगेको छानविन टोलीले सदरमुकाममै झिकाइएका प्रत्यक्षदर्शि संग कुरा गर्ने समितिकी सदस्य तथा दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले बताइन् ।
यही साउन १५ गते तुईन तर्नेक्रममा भारतीय एसएसबिले तुइन काट्दा स्थानीय जयसिंह धामी महाँकाली नदीमा खसेर वेपत्ता भएका छन् ।
गृह मन्त्रालयले घटनाबारे छानविन गर्न सचिव जनार्दन गौतमको संयोजकत्वमा आइतबार समिति गठन गरेको थियो । छानविनको प्रतिवेदन १० दिन भित्र बुझाउनुपर्ने समयसीमा पाएको समितिले यस पछि स्थलगत अनुमगन गर्ने तयारी समेत गरेको छ ।
समितिमा सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्नता भट्ट सदस्य छन् ।
यस अघि जिल्ला प्रशासन कार्यालय दार्चुलाले समेत घटनाको छानविन गर्न समिति गठन गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल गण ४४, प्रहरी नायब उपरिक्षक विजयसिंह धामी, जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरिक्षक नरेन्द्रबहादुर चन्द र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका विक्रमसिंह ढाँडसहित ३ जनाको टोलीले स्थलगत छानविन गरेको छ ।
उक्त टोलीले घटनाका प्रत्यक्षदर्शीहरू कल्याणसिंह धामी, अनिता धामी, विक्रम रङ्कोली र अन्य तीन गाउँलेलाई सदरमुकाम ल्याएको छ ।