धनगढी पोष्ट आइतबार, १२ असोज २०८३   September 27, 2026

धनगढीमा उर्जाशील उद्यमी मेला  शुरु हुदै

धनगढीमा उर्जाशील उद्यमी मेला  शुरु हुदै

धनगढी ।  तीज महोत्सवको अवसरमा धनगढीमा उर्जाशील उद्यमी मेला २०७९ शुक्रवार शुरु हुदैछ । महिलाहरुका प्रतिभा उजागर गर्न, नयाँ प्रतिभाको बिकासका लागि अवसर प्रदान गर्न  सुदुरपश्चिम कला प्रतिष्ठान, लायन्स क्लब अफ धनगढी टाउन क्वीन, धनगढी लेडी जेसिज र हेल्प प्रालि ले संयुक्त रुपमा मेला आयोजना गर्न लागेका हुन् ।

तीजको बेलामा हुदै आएको सांस्कृति प्रस्तुति र रमाइलोको साटो महिलाहरुको  क्षमता बिकासका सम्भावना खोजी गर्न मेला आयोजना गर्न लागिएको मेला संयोजक मेघा भट्टले बताइन् । ‘तीजमा सधै सधै खानपीन र नाचगान मात्र हुन्छ ।’ धनगढीमा आयोजित पत्रकार सम्मेलनमा संयोजक भट्टले भनिन् ‘यस पटक त्यस भन्दा फरक  सफल महिलाहरुलाई सम्मान गर्ने, महिलाहरुमा भएका सीप र क्षमताको प्रस्तुति गर्ने अवसर जुटाएका छौं ।’

धनगढी उपमहानगरपालिका र सामाजिक बिकास मन्त्रालयको सहयोगमा भैरहेको मेलामा खुला कला प्रतियोगिता, तीज गीत प्रतियोगिता, स्थानीय उत्पादन प्रदर्शन,  स्थानीय खानपीन परिकार, निःशुल्क स्वास्थ्य शिविर, कलाकारद्धारा मनोरन्जन,  सुपक गाइजात्रा २०७९, रक्तदान शिविर, उत्प्रेरक मन्तव्य र मेहन्दी कार्यक्रम हुनेछन् ।  मेलाका सबै प्रतियोगितामा महिलाको मात्र सहभागिता रहनेछ ।

मेला साउन २७ र २८ गते धनगढीको बुद्ध मन्दिरमा आयोजना हुन गइरहेको छ ।

धनगढी लेडी जेसिज बर्ष २०२२ की अध्यक्ष सरस्वती भट्टले महिलाहरुको क्षमता र  सफलता बाहिर ल्याउन मेला आयोजना गरिएको बताइन् । ‘महिलाहरु धेरै क्षेत्रमा सफल छन्, महिलाहरुको प्रतिभा पनि धेरै क्षेत्रमा छ । तर त्यो बाहिर आइरहेको छैन ।’ अध्यक्ष भट्टले भनिन् ‘त्यसैले सफल महिलालाई समाजका सामु परिचित गराउन र नयाँको प्रतिभा सार्वजनिक गर्न मेला गर्न लागेका हौं ।’

लायन्स क्लब अफ धनगढी क्वीनकी अध्यक्ष रत्ना बिष्टले  रमाइलोमा सीमित रहेको महिलाको प्रतिभालाई सार्वजनिक गर्न मेलाले पहल गरिरहेको बताइन् ।

हेल्पका अध्यक्ष अभेष चन्दले  सुदुरपश्चिमको मौलिक संस्कृति र महिला उद्यमशीलता जोडेर मेला सँचालन गर्न लागिएको बताए ।

सुदुरपश्चिम कला प्रतिष्ठानका महासचिव गुणाकर पनेरुले तीज महिलाको पर्व भएकोले महिलासँग जोडिएका सबै सँस्थाहरुलाई एक ठाउँमा मिलेर मेलाको आयोजना गर्न लागिएको बताए ।  

 

 

 

 


ट्रेन्डिङ