धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

मास्क नलगाउने र सामाजिक दुरी कायम नगर्नेलाई कारवाही गरिने

काठमाण्डौ 

   मास्क नलगाएर घर बाहिर निस्किने र सामाजिक दुरी कायम नगर्नेलाई सरकारले कारवाही  गर्ने भएको छ । गृह मन्त्रालयले देशभरिका जिल्ला प्रशासन कार्यालयहरुलाई  परिपत्र गर्दै मास्क नलगाएर घर बाहिर निस्किने र सामाजिक दुरी कायम नगर्नेलाइ कारवाही गर्न सोमबार निर्देशन दिएको हो ।

   गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले स्वास्थ्य मापदण्ड अनुसार सामाजिक दूरी कायम नगर्ने र मास्क बिना बाहिर हिँडडुल गर्नेमाथि संक्रमक रोग नियन्त्रण ऐन अनुसार कारबाही गर्न निर्देशन दिइएको बताए ।

   सहप्रवक्ता अधिकारीले  लकडाउनलाई स्वास्थ्य मापदण्ड पालना गर्दै खुकुलो बनाउने नीति अबलम्वन गरिए पनि सर्वसाधारण सहित सरकारी, निजी तथा गैरसरकारी संघसंस्था र कार्यालयले यसको उल्लंघन गरेकोले तत्काल कडाइका साथ पछिल्लो निर्देशन कार्यान्वयन गराउन निर्देशन दिइएको बताए ।

‘ अधिकारीले निर्देशन उल्लंघन गर्नेलाई पक्राउ र जरिवाना सम्मको कारबाही हुने बताए ।

   सरकारले असार १ गतेबाट लागू हुनेगरी लकडाउन खुकुलो बनाएको थियो । त्यसयता सडक र बजार, कलकारखानामा मास्क र सेनिटाइजर प्रयोग र सामाजिक दूरी पालना नगर्ने प्रवृत्ति बढ्दै गएको छ ।


ट्रेन्डिङ