धनगढी । एक बर्ष अघि दर्ता भएको नागरिक उन्मुक्त पार्टी पुराना दलहरुलाई धक्का दिंदै एक प्रतिनिधि सभा सदस्यमा बिजयी भएको छ । नागरिक उन्मुक्ति पार्टी प्रतिनिधि सभाका चार सीटमा अग्रता लिइरहेको छ ।
कैलाली ३ बाट नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी २३ हजार १ सय २० मत पाएर बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धन तर्फबाट माओवादीका कृष्ण चौधरीले १७ हजार ७ सय ४९ मत प्राप्त गरे । यसैगरी एमालेका गौरीशंकर चौधरीले ९ हजार ८ सय ७४ मत प्राप्त गरे भने राप्रपाका बिरेन्द्र बमले ७ हजार ४५ मत प्राप्त गरेका छन् ।
नागरिक उन्मुक्ति पार्टी कैलालीका २ र बर्दिया जिल्लाका २ प्रतिनिधि सभा सदस्यममा अग्रता लिइरहेको छ । कैलाली १ मा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी शुरुआतदेखि नै अग्रता लिइरहेकी छन् । रन्जितालाई पुर्व मन्त्री एवम नेपाली कांग्रेसका उम्मेदवार रामजनम चौधरीले पछ्याइरहेका छन् ।
त्यस्तै कैलाली २ मा नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरी पनि शुरुदेखि नै अग्रता लिइरहेका छन् । अरुणलाई नेकपा माओवादी केन्द्रका भगत बडुवालले पछ्याइरहेका छन् । बडुवाल २०६४ मा कैलाली २ बाट संविधान सभा सदस्यमा निर्वाचित भएका थिए ।
त्यस्तै बर्दिया १ मा नागरिक उन्मुक्ति पार्टीका ठाकुर सिंह थारु शुरुदेखि नै अग्रता लिइरहेका छन् । ठाकुरलाई नेपाली कांग्रेसका सञ्जय गौतमले पछ्याइरहेका छन् ।
बर्दिया २ मा नागरिक उन्मुक्ति पार्टीको समर्थन रहेका स्वतन्त्र उम्मेदवार लालबीर चौधरी नेकपा माओवादीका सुरेश पन्थलाई पछि पार्दै अग्रता लिइरहेका छन् । सो क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले दिएको उम्मेदवारी खारेज भएपछि सो पार्टीले स्वतन्त्र उम्मेदवार लालबीर चौधरीलाई समर्थन गरेको हो ।
स्थानीय तहको निर्वाचनमा ४ पालिका जितेको नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभामा पनि आफ्नो वर्चश्व कायम राख्ने देखिएको छ । २०७४ को निर्वाचनमा कैलाली–१ मा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रहेका रेशमलाल चौधरी भारी मत सहित विजयी भएपछि सो मतलाई जोगाउन उनले आफ्नै पत्नी रञ्जिता श्रेष्ठ (चौधरी) लाई अध्यक्ष बनाएर पार्टी गठन गरेका हुन् । नागरिक उन्मुक्ति पार्टी स्थानीय तहको निर्वाचनबाट कैलालीको ठुलो दल बनेको थियो ।