धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

हिमशिखर सहकारीले ले १२ प्रतिशत लाभांश दिने

हिमशिखर सहकारीले ले १२ प्रतिशत लाभांश दिने

धनगढी । हिमशिखर बहुउदेश्यीय सहकारी संस्थाले  आफ्ना शेयर सदस्यहरुलाई १२ प्रतिशत लाभांश दिने भएको छ । सहकारीको शुक्रवार भएको १४ औं साधारण सभाले आर्थिक बर्ष २०७८।२०७९ को खुद आम्दानीबाट शेयर सदस्यहरुलाई लाभांश दिने निर्णय गरेको हो ।

 सहकारीेले आर्थिक बर्ष २०७८।२०७९ मा  ७९ लाख  ७७ हजार रुपैया खुद नाफा गरेको  छ । हालसम्म सहकारीले ५७ करोड ३४ लाख ८१ हजार  लगानी गरेको ४३ करोड ४९ लाख ९० हजार बचत संकलन गरेको छ ।

  २५ जना  शेयर सदस्य र कुलपुँजी  २५ लाखबाट संचालन शुरु भएको हिमशखिरका अहिले तीन हजार ५९६ शेयर सदस्य रहेका छन् । सहकारीले धनगढी उप–महानगरपालिका, गोदावरी, गौरीगङ्गा नगरपालिका र कैलारी गाउँपालिकासम्म  सेवा केन्द्रलसँचालन गर्दै आएको छ ।

बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले सहकारीलाई अझै  सदस्य केन्द्रित बनाएर लैजाने लक्ष्य रहेको बताए ।

सुदुरपश्चिमका  भौतिक पूर्वाधार बिकास  मन्त्री दीर्घ सोडारीले देशको अर्थतन्त्रमा सहकारीको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

सोडारीले सहकारिताका माध्ययमबाट गरिबी निवारणमा महत्वपूर्ण योगदान पुग्दै आएकोले देशको अर्थतन्त्रमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताए ।

सहकारीले बैंकको पहुँच बाहिर रहेको निम्न र मध्ययमबर्गीयको उत्थानको लागि महत्वपूर्ण भूमिका खेलेको मन्त्री सोडारीले बताए ।

व्यवस्थापक प्रतिवेदन संस्थाका व्यवस्थापक महेन्द्र शाहीले प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन सहकारीका सचिव विमल जोशीले गरेका थिए भने शुभकामना मन्तव्य उपाध्यक्ष रोशन सिंहले गरेका थिए ।

विभिन्न व्यक्तिहरु पुरस्कृत तथा सम्मानित

हिमशिखर बहुद्देश्यीय सहकारी संस्थाले बार्षिक साधारणसभामा विभिन्न व्यक्तिहरुलाई  सम्मानित गरेको छ । सहकारीका क्षेत्रमा लामो समयदेखि पत्रकारिता क्षेत्रमा कलम चलाएवापत राष्ट्रिय समाचार समितिका समाचारदाता तथा पत्रकार महासंघका राष्ट्रिय परिषद सदस्य मीन ठकुरी पुरस्कृत भएका छन् ।

उत्कृष्ट कर्मचारीको रुपमा धनगढी शाखामा कार्यरत लाल बहादुर बोहरा, हिमशखिर सहकारी गीतका रचनाकार प्रेमबिवश चन्द पुरस्कृत भएका छन् ।

यसैगरी धनगढी १ मेनरोडका दीर्घराज जोशी, गौरीगंगा ८ का इन्द्रबहादुर कलेल र कैलारी ३ का भरतराम डगौरालाई जेष्ठ सदस्य सम्मान गरिएको छ । उत्कृष्ट बचत सदस्य सम्मानमा धनगढी ४ बसपार्कका प्रज्ञा केसी, गौरीगंगा ८ बढैपुरका जानकी महरा र कैलारी १ हसुलियाकी मनकुमारी जेठारालाई प्रशंसापत्र वितरण गरिएको छ ।

असल ऋणी सदस्य सम्मानमा धनगढी ३ बोराडाँडीकी साबित्री बास्तोला, गोदावरी ५ गेटाका दिनेशबहादुर धामी, गौरीगंगा नगरपालिका ८ लिक्माका अनन्तराम डगौरा र कैलारी ७ रतनपुरकी मौसम्पी चौधरीलाई प्रशंसा पत्र वितरण गरिएको छ ।


ट्रेन्डिङ