धनगढी । धनगढी स्थित कैलाली विद्या निकेतनले विभिन्न कार्यक्रम गरी १३औं बार्षिकोत्सव मनाएको छ ।
बार्षिकोत्सव कार्यक्रम उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले विद्या भन्दा ठुलो धन केही नभएको बताए । ‘विद्यालाई न कसैले चोर्न सक्छ, न कसैले खोस्न सक्छ,’ प्रदेश प्रमुख जोशीले भने, ‘विद्या विना जीवन अधुरो हुन्छ, त्यसैले सवै विद्यार्थीको पहिलो उद्देश्य बढी भन्दा बढी विद्या आजर्न गर्ने हुनु पर्दछ ।’
उनले विद्यालयमा पठाएपछि छोराछोरीले सिकिहाल्छन् भनेर ढुक्क नहुन आभिभावकलाई आग्रह गरेका छन् । ‘विद्यालयमा पठाएर छोराछोरीले सवै कुरा सिक्ने हैनन्,’ प्रदेश प्रमुख जोशीले भने, ‘१८ घण्टा उनिहरु घरमै हुन्छन्, त्यसैले बालबालिकालाई संस्कारी र इमान्दार बनाउन अभिभावकले घरमा पनि रेखदेख गर्नु पर्दछ ।’ उनले विद्यालयका बारेमा पनि बेला बेलामा बुझ्न अभिभावकलाई सुझाव दिएका छन् ।
विद्यालयकी संस्थापक रेखा शाहको अध्यक्षतामा सम्पन्न बार्षिकोत्सव कार्यक्रममा कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्राध्यापक डाक्टर धर्मराज उपाध्याय, एस्पिय क्याम्पसका क्याम्पस प्रमुख योगराज उपाध्याय, नाष्क कलेका प्राचार्य उपेन्द्र बम, प्याब्सन कैलालीका बरिष्ट सल्लाहकार कैलाश दहाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
दुई जना शिक्षक समानित
कैलाली विद्या निकेतको १३औं बार्षिकोत्सव कार्यक्रमका अवसरमा विद्यालयका कार्यरत दुई जना शिक्षक, शिक्षिकालाई सम्मानित गरिएको छ ।
सम्मानित हुनेमा शिक्षक जोन चौधरी र सोभा देउवा रहेका छन् । उनिहरुलाई सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले दोसल्ला सहित सम्मान पत्र प्रदान गरेका थिए । बार्षिकोत्सवका अवसरमा विद्यालयमा कार्यरत अन्य शिक्षक शिक्षिकालाई पनि प्रशंसा पत्र प्रदान गरिएको कैलाली विद्या निकेतनका संस्थापक प्रिन्सिपल टोपेन्द्र शाहले बताए ।

पिन्सिपल शाहका अनुसार गत बर्ष कक्षामा प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थी, विभिन्न खेल प्रतियोगितामा सहभागि भई उत्कृष्ट घोषित भएका विद्यार्थी तथा बार्षिकोत्सव कार्यक्रमको अवसरमा आयोजित सप्ताहव्यावि खेलकुलदमा प्रथम, द्धितीय र तृतीय स्थान हाँशील गर्ने खेलाडीलाई बार्षिकोत्सव कार्यक्रमका अवसरमा पुरस्कार वितरण गरिएको छ ।