धनगढी । कैलाली, कञ्चनपुरमा फैलिएको आँखा पाक्ने रोग निको हुने भन्दै नागरिकमा अनेक भ्रम सिर्जना भएको पाइएको छ ।
आँखामा गाईको गहुँत लगाए ठिक हुने, घ्यु कुमारी लगाउँदा निको हुने, आँखामा कागतिको कोक्रा दलेमा आँखा पाक्ने रोगबाट बच्न सकिने भ्रम फैलाएका देखिन्छन् । तर स्वास्थ्यकर्मी भने गहुँत र कागती लगाउँदा आँखाको नानी गुम्न सक्ने चेतावनी दिन्छन् ।
‘भाइरसका कारण आँखामा समस्या हुने हो,’ गेटा आँखा अपतालका नेत्र रोग विशेषज्ञ डाक्टर रमेशचन्द्र भट्टले भने, यो रोग आफै निको हुने रोग हो, औषधी खास्सै प्रयोग गर्नु पर्ने हुँदैन, तर गहुँत, घ्यूकुमारीको रस वा कागती लगाउँदा रोग निको हुने नभई आँखाको नानी गुम्ने खतरा हुन सक्दछ, यस तर्फ सवै सचेत हुन आवश्यक छ ।’
गहुँतमा व्याक्टिेरिया हुने हुँदा त्यो आँखामा लगाउँदा नानीलाई असर पुर्याउन सक्ने उनले बताए । त्यसैगरी कागतीको बाक्राले आँखा पोल्ने समस्या हुने आँखामा घाउन बनाउन सक्छ भने, घ्यूकुमारी लगाउँदा आँखा चिलाउने र घाउ पर्न सक्ने सम्भावना हुने उनले बताए ।
उनले आँखामा औषधी राख्दा आँखा चेकजाँच गराएर मात्रै राख्न सुझाव दिएका छन् । अहिले औषधी पसलबाट औषधी किनेर आँखामा लगाउने गरिएको देखिन्छ,’ आँखा विशेषज्ञ डा. भट्टले भने, ‘यो पनि गलत हो, आँखा जस्तो सम्वेदनशिल अंगमा त्यसरी औषधी राख्नु राम्रो हैन ।’