धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सेती अस्पतालको स्तरोन्नति र जनशक्ति व्यवस्थापन गर्न सामाजिक समितिको निर्देशन

सेती  अस्पतालको स्तरोन्नति र  जनशक्ति व्यवस्थापन  गर्न सामाजिक समितिको निर्देशन

धनगढी । सुदुरपश्चिम प्रदेश सभाको सामाजिक समितिले सेती प्रादेशिक अस्पतालको स्तरोन्नति, जनशक्ति व्यवस्थापन र बिरामी  बाहिर पठाउने काम रोक्न सामजिक बिकास मन्त्री झपट साउदलाई निर्देशन दिएको छ ।

सामाजिक समतिको बिहीवार बसेको बैठकले अस्पतालको व्यवस्थापकीय सुधार गरि सेवा प्रवाहमा गुणस्तरियता कायम गर्न अस्पताल व्यवस्थापनलाई समेत निर्देशन दिएको छ ।

समितिले सामाजिक बिकास मन्त्री झपट साउदलाई बैठकमा बोलाएर अस्पतालको ओएनएम गरेर स्तरोन्नति गर्न, आवश्यक जनशक्तिको व्यवस्थापन गर्न निर्देशन दिएको समितिका सदस्य धर्मराज पाठकले बताए । ‘सेती अस्पतालको २०४८ मा ओएनएम भएको हो, त्यसपछि भएको छैन ।’  प्रदेश सभाको सामाजिक समिति सदस्य पाठकले ‘त्यसैले अस्पतालको सुधार र सेवा बिस्तारका  लागि ओएनएम निर्माण सहितका नितीगत कार्य गर्न  समितिले निर्देशन दिएको छ ।’

समितिका सभापति हिरा सार्कीको अध्यक्षतामा बसेको बैठकले अस्पतालको जनशक्ति व्यवस्थापन गर्न, नया बनेको भवन  हस्तान्तरण गराएर सेवा प्रवाहमा प्रभावकारिता ल्याउन समेत निर्देशन दिएको छ ।  समितिले सेती अस्पतालबाट बिरामीलाई बाहिर  बिक्री गरिने गरेको भन्दै सो कार्य तत्काल रोक्न मन्त्री साउदलाई निर्देशन दिएको छ ।

 समितिको सोही बैठकले सेती अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नर बहादुर शाह र मेसु शेर बहादुर कमरलाई  अस्पतालको व्यवस्थापनमा सुधार ल्याउन निर्देशन दिएको छ ।  समितिका सदस्य पाठकका अनुसार अस्पताल परिसरमा सरसफाई गर्न,  टिकट काट्न र परिक्षणाका लागि हुने भीडभाड व्यवस्थित गर्न समेत निर्देशन  दिएको  छ ।

  अस्पतालमा परिक्षणमा  जेष्ठ नागरिकलाई प्राथमिकता दिन, प्रयोगशाला परिक्षणमा हुने ढिलाई र महिनौसम्म अप्रेसनको पालो नआउने कुराको व्यवस्थापन गर्न समेत समितिले निर्देशन दिएको पाठकले बताए ।

 


ट्रेन्डिङ