धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

नगर प्रहरीमाथी दुव्र्यवहार गर्ने दुई जना भारतीय नागरिक विरुद्ध मुद्दा दर्ता

नगर प्रहरीमाथी दुव्र्यवहार गर्ने दुई जना भारतीय नागरिक विरुद्ध मुद्दा दर्ता

धनगढी । धनगढी उप–महानगरभित्र कार्यरत नगर प्रहरीलाई दुर्व्यवहार गर्ने भारतीय नागरिक विरुद्ध मुद्दा दर्ता गरिएको छ । धनगढी उप–महानगरपालिकाले नगर प्रहरीसँग दुर्व्यवहार गर्ने भारतीय नागरिक साहिल खान र साहरुख खान विरुद्ध जिल्ला प्रहरी कार्यालय, कैलालीमा मुद्दा दर्ता गरेको हो ।

गत मङ्गलवार वडा नम्बर १ मा रहेको त्रिनगर कृषि हाटबजारमा उनीहरूले नगर प्रहरीलाई गाली गलौज र दुर्व्यवहार गरेका थिए । उपमहानगरले किसान परिचयपत्र नभएकाहरूलाई हाटबजारमा व्यापार गर्न नदिने नियम बनाएकोमा साहिल र साहरुख खानले जबरजस्ती हाटबजारमा प्रवेश गरेर तरकारी बिक्री गर्न पाउनुपर्ने भन्दै आक्रोशित भएर नगर प्रहरीलाई गालीगलौज गर्दै आफ्नो तरकारी बजारमा छरपस्ट पारेका थिए ।

धनगढी उपमहानगरपलिकाले धनगढीका किसानलाई किसान परिचयपत्र वितरण गरेर व्यापार गर्न छुट दिएको छ । साहिल खान र साहरुख खानले वडा नम्बर २ मा जग्गा भाडामा लिएर तरकारी खेती गरेको बताए पनि किसान परिचयपत्र लिन उपमहानगरमा सम्पर्कसम्म नगरेको नगर प्रमुख गोपाल हमालले बताए । एक्कासी गत मङ्गलवार हाटबजारमा आएर हङ्गामा मचाउन खोजेका उनीहरूलाई लगत्तै पक्राउ गरिएको नगर प्रमुख हमालले बताए ।

कानुन कार्यान्वयन गराउन खोज्दा अवरोध गर्दै दुर्व्यवहार र गालीगलौज गरेको अभियोगमा पक्राउ परेका दुबै जना विरुद्ध सार्वजनिक अभियोगमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय, कैलालीका सहायक सूचना अधिकारी सन्तोष बस्यालले बताए । बुधवार जिल्ला अदालत कैलालीबाट पाँच दिनको म्याद थप भई हाल अनुसन्धान भइरहेको सहायक सूचना अधिकारी बस्यालले बताए ।


ट्रेन्डिङ