धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

दिक्षान्त समारोहका लागि फुल टिप्न खटाइएकी प्रहरी जवान रुखबाट खसेर घाइते

धनगढी

  नेपाल प्रहरीको तालिम केन्द्र दिपायलमा प्रहरी जवानको तालिम लिइरहेकी एक महिला घाइते भएकी छन् । घाइते हुनेमा डडेल्धुराकी निर्मला ऐर रहेको तालिम केन्द्र दिपायलका एसएसपी प्रदीप कुमार श्रेष्ठले जानकारी दिए ।

 घाइते ऐरको प्रहरी अस्पताल दिपायलमा उपचार हुन नसकेपछि धनगढीको सेती प्रादेशिक अस्पताल पठाइएको वरिष्ठ प्रहरी उपरिक्षक श्रेष्ठले बताए । बुधबार घाइते भएकी ऐर नेपाल प्रहरीको ११–७९ औ समुहको प्रहरी जवान तालिम सकेर बिहीबार दीक्षान्त समारोहका हुने तयारीमा थिइन् ।

  अतिथी स्वागतको लागि उनी लगायत अन्य प्रहरी जवानलाई फूल टिप्न पठाइएको थियो । फुल टिप्न पठाइएकी ऐर रुखबाट खस्दा एउटा खुट्टा भाँचिएको छ । अब उनी दिक्षान्त समारोहमा सहभागी हुन सक्ने छैनन् । तालिम केन्द्र दिपायलका वरिष्ठ प्रहरी उपरिक्षक श्रेष्ठले घाइते ऐर दिक्षान्त समारोहका सहभागी मात्रै नहुने, तर अन्य सम्पूर्ण प्रक्रिया पूरा भइसकेकोले जागिरमा कुनै समस्या नहुने बताए ।

   काममा लगाउन नपाइने नियम विपरित तालिम केन्द्रमा प्रशिक्षार्थीलाई विभिन्न काममा लगाउने गरिएको गुनासो रहँदै आएको छ ।


ट्रेन्डिङ