धनगढी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले जनशक्तिका लागि संघीय सरकारमा भर पर्नु परेका कारण प्रदेश स्वास्थ्य सेवामा अपेक्षाकृत सुधार हुन नसकेको बताएका छन् । शुक्रबार प्रदेश सभाको सामाजिक विकास समितिमा प्रदेश सभा सदस्यहरुले राखेका प्रश्नहरुको जवाफ दिने क्रममा मुख्यमन्त्री शाहले प्रदेशका अस्पतालहरुमा संघीय सरकारबाट काजमा खटिएका जनशक्ति रहेकोले सेवा प्रभावकारी हुन नसकेको बताएका हुन् ।
उनले संघीय सरकारले सेती र महाकाली अस्पतालमा कार्यरत चिकित्सकहरुलाई काज फिर्ता गर्दा सेवा प्रवाहमा समस्या भएको बताएका छन् । सामाजिक विका समितिका सदस्य धर्म राज पाठकले दरबन्दी थप गरेर सेपा प्रवाह गर्नपर्नेमा भएका दरबन्दी नै पदपूर्ति हुन नसकेर सेवा प्रवाहमा भइरहेको समस्याबारे प्रदेश सरकार किन उदासीन रहेको ? भन्दै प्रश्न गरेपछि जवाफमा मुख्यमन्त्री शाहले छिट्टै संरचनात्मक सर्वेक्षण गरी मन्त्रीपरिषदबाट पारित गरेर सेवा प्रवाहलाई चुस्त बनाइने बताए ।
प्रदेश सभाको सामाजिक विकास समितिले प्रदेशका मुख्य तीन अस्पताल, सेती, महाकाली र टीकापुर अस्पतालको अनुगमन गरी त्यहाँको अवस्था बारे तयार गरेको प्रतिवेदन मुख्यमन्त्री शाह र सामाजिक विकास मन्त्री झपट साउँदलाई बुझाएको छ । प्रतिवेदन बुझाउनु अघि समितिका सदस्यहरुले मुख्यमन्त्री शाह र सामाजिक विकास मन्त्री साउँदलाई बिभिन्न प्रश्नहरु सोधेका थिए ।
प्रदेश सभा सदस्य प्रकाश बमले महाकाली अस्पतालमा शल्यक्रिया गर्ने डाक्टर हुँदा पनि बेहोश पार्ने डाक्टर नहुँदा त्यहाँका जनताले सेवा प्राप्त गर्न नसकेको भन्दै मन्त्री साउँदको ध्यानाकर्षण गराएका थिए । प्रदेश सभा सदस्य बमको प्रश्नको जवाफ दिँदै मन्त्री साउँदले जनशक्तिकै अभावका कारण यस्ताचे समस्या आएको बताए । उनले सेती, महाकाली र टीकापुर अस्पताललाई समान रुपमा स्तरोन्नति गर्ने गरी मन्त्रालयले काम गरिरहेको बताउँदै सेती अस्पताललाई दुई शय बेडको अस्पतालको रुपमा स्तरोन्नति गर्ने गरी काम शुरु भएको बताए ।
सामाजिक विकास समितिले शुक्रबारको छलफलमा भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीलाई बोलाएर चालू आर्थिक बर्षको कृषि अनुदान वितरण पारदर्शी रुपमा र वास्तविक र बिपन्न किसान समेटिने गरी गर्न निर्देशन समेत दिएको समितिका सभापति माया पन्तले जानकारी दिइन् ।