धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

पुजारी दलित, श्रद्धालु गैरदलित हुने बनारसी जात्रा

पुजारी दलित, श्रद्धालु गैरदलित हुने बनारसी जात्रा

बैतडी । बैतडीको पाटन नगरपालिका–३ गुजरमा रहेको प्रसिद्ध वनारसी धाममा हरेक वर्ष हुने जात्रालाई जातीय विभेद अन्त्य गर्ने जात्राका रूपमा लिइन्छ । हरेक वर्ष माघ शुक्ल दशमीका दिन लाग्ने यो जात्रामा पुजारी दलित समुदायबाट हुने परम्परा छ । साथै जात्रा भर्ने गैरदलितले दलित पुजारीका हातबाट टीका र प्रसाद ग्रहण गर्छन् ।

धार्मिक सहिष्णुताको नमुना बनेको यो मन्दिरमा दलितले पूजा गरेपछि मात्रै देउता खुसी हुन्छन् भन्ने विश्वास छ । जात्रा हेर्न आउने गैरदलितले पनि टीका, प्रसाद ग्रहण गर्ने मन्दिरका मूल पुजारी झेरे लुहारले बताए ।

सो मन्दिरमा सबै समुदायका दर्शनार्थी जाने र दलित समुदायका पुजारीबाट प्रसाद ग्रहण गर्ने प्रचलन रहिआएको वनारसी धाम विश्वनाथ सेवा समाजका धार्मिक प्रवक्ता गणेशप्रसाद पन्तले बताए । ‘

वनारसी जात्रा जातीय विभेद अन्त्य गर्नेका रूपमा लिने गरेका छौँ,’ उनले भने, ‘यहाँ दलित र गैरदलितबिच कुनै पनि विभेद हुँदैन ।’ वनारसी धामको जात्रा जातीय विभेद अन्त्यका लागि सन्देश दिने जात्रा भएको दलित अधिकारकर्मी रमेश कोलीले बताए ।

दलित पुजारी हुने मन्दिरमा ब्राह्मण र अन्य जाति अनिवार्य सहभागी हुने परम्परा रहेको उनले बताए । ‘गैरदलितले निर्धक्कसँग पूजा सामग्री चढाएर प्रसाद लिन्छन्,’ उनले भने, ‘लामो समयदेखि दलितमाथि विभेद हुने गरेको थियो तर यो जात्रा विभेद अन्त्यको सन्देशका रूपमा लिन सकिन्छ ।’


ट्रेन्डिङ