धनगढी पोष्ट आइतबार, ०४ माघ २०८२   January 18, 2026

मुक्त कमैयाको समस्या समाधानका लागि प्रदेश स्तरमै आयोग गठन गर्न माग

मुक्त कमैयाको समस्या समाधानका  लागि प्रदेश स्तरमै आयोग गठन गर्न माग

धनगढी

 बीसौं मुक्ति दिवसको अवसरमा कैलालीका मुक्त कमैयाहरुले प्रदेशमै अधिकार सम्पन्न मुक्त कमैया पुनस्र्थापना तथा समस्या समाधान आयोग गठन गरी कमैयाका समस्या सम्बोधन गर्न माग गरेका छन् ।

 मुक्त कमैयासंग सम्बन्धित बिभिन्न संघ संस्थाहरुले शुक्रबार सुदुरपश्चिम प्रदेशका भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री बिनिता चौधरी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै सो माग गरेका हुन् । उनीहरुले प्रदेशमा आयोग र स्थानीय तहमा पुनस्र्थापना समिति बनाएर पुनस्र्थापना गर्न छुटेका मुक्त कमैयाको समस्या समाधन गर्न माग गरेका हुन् ।

 उनीहरुले छुट कमैयाहरुलाई हाल बसोबास गरेको स्थानमै पुनस्र्थापना गर्न माग गरेका छन् । कारोना भाइरसका कारण बिदेशबाट फर्केर बेरोजगार रहेका मुक्त कमैयाहरुलाई दक्षताका आधारमा रोजगारीको ब्यवस्था गर्न तथा २०५८ मा परिचय पत्र पाएर सदर हुन नसकेकाहरुको परिचय पत्र सदर गरेर बसोबासको ब्यवस्था मिलाउन पनि माग गरिएको छ ।

  मुक्त कमैयाहरुका लागि घर निर्माण गर्न काठ उपलबध गराउने सरकारको निर्णय अनुसार काठ पाउन नसकेका कैलालीका ९ सय ३३ परिवारलाई तत्काल काठ उपलब्ध गराउन र मुक्त कमैयाका बालबालिकाहरुलाई स्नताकोत्तर तहसम्मको पढाई निःशुल्क हुने ब्यवस्था मिलाउन समेत माग गरिएको छ ।

  ज्ञापन पत्र बुझाउनेमा मुक्त कमैया समाज, कमैया प्रथा उन्मुलन समाज, कमैया महिला जागरण समाज, मुक्त कमैया महिला विकास मञ्च र मुक्त कमैया युवा समाज रहेका छन् ।