धनगढी पोष्ट आइतबार, ०४ माघ २०८२   January 18, 2026

डी प्लस ल्याउनेले मात्र १२ को फारम भर्न पाउने

धनगढी

कक्षा ११ मा हरेक बिषयमा न्युनतम डी प्लस ल्याउनेले मात्र १२ को फारम भर्न पाउने भएका छन् ।

   राष्ट्रिय परीक्षा बोर्डले मंगलबार पारित गरेको कार्यविधिमा विद्यालयले कक्षा ११ को मूल्यांकन गर्ने र मूल्यांकनमा न्यूनतम डी प्लस ल्याएकाले मात्र कक्षा १२ को फारम भर्न पाउने उल्लेख गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले विद्यालयले आफ्नो अनुकूलतामा परीक्षा लिएर विद्यार्थीको मूल्यांकन गर्ने गरी कार्यविधि पारित भएको बताए ।

    पाठ्यक्रमले तोकेको आधार पूरा हुने गरी विद्यालयले परीक्षा लिने र एक कपी परीक्षा बोर्डमा पठाउनुपर्नेछ, अध्यक्ष पौडेलले भने– ‘कक्षा १२ को आगामी वर्षको परीक्षा फारम भर्न ११ मा न्यूनतम डी प्लस ल्याएको हुनुपर्छ । कक्षा ११ मा डी प्लस नल्याएका विद्यार्थीको १२ को परीक्षा फारम बोर्डले नबुझ्ने व्यवस्था गरेको उनले बताए ।

   कोभिड१९ का कारण असामान्य परिस्थिति भएपछि यसअघि तय भएको परीक्षा स्थगित भएको थियो । कक्षा ११ र १२ मा करिब नौ लाख ६४ हजारले परीक्षा फारम भरेका थिए । कक्षा ११ मा पाँच लाख ३२ हजारभन्दा बढीले परीक्षा आवेदन भरेका छन । कक्षा १२ मा चार लाख ३१ हजारभन्दा बढी परीक्षार्थी छन । कक्षा १२ मा भने अनुकूल समयमा परीक्षा लिने तयारी छ ।