धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

अल्पमतको ३० औं दिनमा  सुदुरपश्चिमका मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने

मुख्यमन्त्रीले अल्पमतमा परेको ३० औ दिनभित्र बहुमत प्रमाणित गरिसक्नु पर्ने कानुनी व्यवस्था गरेको छ ।

अल्पमतको ३० औं दिनमा  सुदुरपश्चिमका मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने

धनगढी । नेकपा एमालेले समर्थन  फिर्ता लिएको  ३० औ दिनमा सुदुरपश्चिमका मुख्यमन्त्री दिर्घबहादुर सोडारीले बिश्वासको मत लिने भएका छन् । बुधबार मुख्यमन्त्री सोडारीले  सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाउँदै साउन १८ गते विश्वासको मत लिने जानकारी गराएका हुन् ।

साउन १८ गते अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले बिश्वासको मत लिइसकून पर्ने अन्तिम दिन हो ।नेपालको कानुनले सुदुरपश्चिम प्रदेश सभाको मुख्यमन्त्रीले सरकारलाई कुनै दलले दिएकोसमर्थन फिर्ता लिएको ३० औ दिनभित्र बहुमत प्रमाणित गरिसक्नु पर्ने व्यवस्था गरेको छ ।

सुदूरपश्चिम प्रदेशसभा सचिवालयले मुख्यमन्त्रीको विश्वासको मतका लागि शुक्रबारप्रदेश सभा बैठकको आव्हान गरेको छ । ‘आजै (बुधबार)  मुख्यमन्त्री ज्युको पत्र आएको थियो, शुक्रबार ४ बजे विश्वासको मतका लागि संसद बैठक बस्ने सूचना भइसकेको छ’ सभामुख भण्डारीले भने ।

असार २० गते नेकपा एमालेले मुख्यमन्त्री सोडारीको सरकारबाट समर्थन फिर्ता लिएपछि उनी अल्मतमा परेका थिए ।

सोडारी त्यतिबेला एमालेका ११, माओवादीका सभामुखबाहेक १०, नाउपाका दुई, समाजवादीका चार र स्वतन्त्र चार गरी २८ जनाको समर्थनमा मुख्यमन्त्री भएका थिए । तर, केन्द्रमा नयाँ गठबन्धन बनेसँगै एमालेले असार २० गते उनलाई दिएको समर्थन फिर्ता  लिदै आफ्ना तीनजना मन्त्रीहरू पनि फिर्ता बोलाएको थियो ।

मुख्यमन्त्री सोडारीलाइृ दिएको समर्थन फिर्ता लिएको नेकपा एमाले र कांग्रसको अहिले गठबन्धन छ ।  सुदुरपश्चिम प्रदेश सभामा यी दुई दलको मात्रै बहुमत पुग्छ । अझ रेशम पक्षका नाउपाका सदस्यहरूले पनि नयाँ सरकारलाई समर्थन गर्ने संकेत देखाएका छन् ।

सुदूरपश्चिम प्रदेशसभामा २७  सिट बहुमत हो । कांग्रेसका १८, एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका ६, राप्रपा र स्वतन्त्र एक÷एक गरेर ३७ जना विपक्षमा छन् ।

अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले चालू वर्षको बजेट पारित गराउन नसक्दा साउन १ देखि सुदूरपश्चिम बजेट शून्यताको स्थिति छ ।


ट्रेन्डिङ