धनगढी पोष्ट मङ्गलबार, ०६ माघ २०८२   January 20, 2026

बाख्राको खोरभित्र आठ किलोकाे अजिङ्गर भेटियाे

बाख्राको खोरभित्र आठ किलोकाे अजिङ्गर भेटियाे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-२ लक्ष्मीपुरमा  शनिबार दुर्लभ प्रजातिको अजिङ्गर फेला परेको छ। स्थानीय सुनील डगौराको बाख्राको खोरभित्र अजिङ्गर फेला परेको हो।

आठ किलो तौल भएको अजिङ्गरको लम्बाइ तीन मिटर बढी रहेको वडा सदस्य डबलबहादुर ऐरले बताए।

“अजिङ्गर बाख्राको खोरभित्र रहेको जानकारी प्राप्त हुनासाथ सुरक्षित साथ समातेर बोरामा राख्यौँ,” उनले भने, “शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा अजिङ्गर फेला परेको जानकारी दियौँ, त्यसपछि आइपुगेको निकुञ्जको टोलीलाई समातेको अजिङ्गर सहितको बोरा दियौँ।”

निकुञ्जका कर्मचारीले उद्धार गरिएको अजिङ्गरलाई निकुञ्जको सुरक्षित क्षेत्रमा लगेर छाडेका छन्। अजिङ्गर सनवोरा नदी हुँदै चितौरा नाला भएर डगौराको बाख्राको खोरमा आहाराको खोजीमा आइपुगेको हुनसक्ने स्थानीय बासिन्दा हरिदत्त भट्टले जानकारी दिए।

उनका अनुसार गत वर्ष पनि सोही क्षेत्र नजिकबाट अजिङ्गरको उद्धार गरी निकुञ्जका कर्मचारीलाई बुझाइएको थियो।


ट्रेन्डिङ