धनगढी पोष्ट आइतबार, ०४ माघ २०८२   January 18, 2026

धनगढीमा फुटबल प्रशिक्षण केन्द्र बनाउन एन्फा र धनगढी उपमहानगरपालिकाबीच सम्झौता

एक लाख अमेरिकन डलर (एक करोड ३४ लाख ३३ हजार नेपाली रुपैयाँ) लगानी गरेर फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न सम्झौता भएको हो ।

धनगढीमा फुटबल प्रशिक्षण केन्द्र बनाउन एन्फा र धनगढी उपमहानगरपालिकाबीच सम्झौता

 

 

धनगढीः कैलालीको धनगढीमा सुदूरपश्चिममै पहिलो पटक फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न सम्झौता भएको छ।

एक लाख अमेरिकन डलर (एक करोड ३४ लाख ३३ हजार नेपाली रुपैयाँ) लगानी गरेर फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न सम्झौता भएको हो। धनगढीमा फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न  धनगढी उप-महानगरपालिकाका तर्फबाट नगर प्रमुख गोपाल हमाल र अखिल नेपाल फुटबल संघका तर्फबाट  अध्यक्ष पंकज बिक्रम नेम्वाङ्ग बिच एन्फाका केन्द्रीय सदस्य एवं कैलाली जिल्ला फुटबल संघका अध्यक्ष अनिल मल्ल र एन्फाका पदाधिकारीको उपस्थितिमा सम्झौता भएको हो।

अखिल नेपाल फुटबल संघको २०८१ भदौ ११ र १३ गतेको बैठकले कैलालीमा फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न बजेट विनियोजन गर्ने निर्णय गरेको थियो। सुदूरपश्चिममै पहिलो पटक धनगढीमा फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न फूलबारीको डिपो बजार नजिक धनगढी उपमहानगरपालिकाले उपलब्ध गराएको ५ बिघा जमिनमा कम्तिमा ५ हजार दर्शक बस्ने प्याराफिटसहितको प्रशिक्षण केन्द्र निर्माण गर्न सम्झौता गरिएको छ। एकेडेमी निर्माण गर्न पहिलो चरणमा एक लाख अमेरिकी डलर बजेट विनियोजन गरिएको छ।