धनगढी पोष्ट
सोमबार, १२ जेठ २०८२ मा प्रकाशित
सुखड । घोडाघोडी नगरपालिकाका मेयर खडग बहादुर रावतले भगड्डीको आर्थिक सामाजिक बिकासका लागि नगरपालिका प्रतिबद्ध रहेको बताएका छन् ।
भगड्डीको समस्या सम्वोधनका लागि नगरपालिका प्रतिवद्ध छ । याक नेपालले सुखडमा आयोजना गरेको खाद्य अधिकार हननका सवालहरुको समीक्षा तथा सुनुवाई कार्यक्रममा मेयर रावतले भने ‘पालिकाले आप्mनो तर्फबाट सक्ने कामहरु गर्ने मेरा प्रतिवद्धता छ ।’
भगड्डीको कान्द्रा नदीको कटानको समस्या नगरपालिकाले मात्र गरेर हुन सक्ने नभएको बताउँदै मेयर रावतले त्यसका लागि प्रदेश र संघसँग पहिल गरिरहेको बताए । ‘नदी कटान रोक्ने काम गर्न नगरपालिकाको बजेटले मात्र पुग्दैन । बढी बजेट भएका संघ र प्रदेशले यो काम गर्नु पर्छ ।’ मेयर रावतले भने ‘यसका लागि संघर्ष समितिसँग जुनसुकै ठाउँमा गएर कुरा गर्न तयार छुँ ।’
नगरपालिकाले आय बृद्धिका लागि सीपमुलक तालिम र कृषिका कार्यक्रमहरु सँचालन गर्दै आइरहेको बताउदै मेयर रावतले नगरपालिकाका कार्यक्रममा जोडिन आग्रह गरे ।
घोडाघोडी नगरपालिका वडा नम्बर ५ का अध्यक्ष लोक बहादुर चन्दले समुदाय संगठित भएर आएमा कृषि तालिम र अन्य सीपमुलक तालिमहरु दिन सकिने बताए ।
भगड्डी संघर्ष समितिका संयोजक ललित एडीले भगड्डीवासीको समस्याको अहिलेसम्म राज्यका कुनै निकायबाट सुनुवाई नभएको बताए । संघर्ष समिति एक्लै जादा कतै सुनुवाई नभएको बताउँदै संयोजक ऐरीले मेयर र वडा अध्यक्ष सहितको टोली बनाएर अघि बढे सम्वोधन हुन सक्ने बताए ।
बेताल मिडिया प्रालिका कर्ण शाहले कार्यक्रमको सहजीकरण गरेका थिए । याक नेपालका महासचिव हृदय पुजाराले धन्यवाद ज्ञापन गरेका थिए ।
भगड्डीमा कान्द्रा नदीको कटानले गर्दा लगभग २३० घर तथा ३५० बिघा खेतयोग्य जमिन उच्च जोखिममा परेको, सिचाई को सुविधा नहुनु तथा उत्पादित कृषि उपजहरूको बजारीकरण नहुनु, जीविकोपार्जन तथा रोजगारीमा पहुँच नभएको, खानेपानीको चरम समस्याको कारण दैनिक आधा घण्टा हिँडेर पानी ल्याउनुपर्ने अवस्था, सिचाईको असुविधा तथा आकाशे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता रहेको छ ।
त्यस ठाउँका वासिन्दाहरुले कान्द्रा नदीको कटानी बाट रोक्नका लागी तटबन्धको माग, सिचाइका लागी पर्याप्त बोरिङ अथवा सिचाई कुलोको माग,जीविकोपार्जनका लागी सीपमुलक वैकल्पिक व्यवस्था, खानेपानी सुविधाका लागी हाते नल तथा बोरिङको लागी माग,सिचाइका लागी पर्याप्त बोरिङ अथवा सिचाई कुलोको माग र बिद्युत सुविधाको लागी लाइन बिस्तार गर्नुपर्ने माग राखेका छन् ।