धनगढी पोष्ट
मङ्गलबार, २७ जेठ २०८२ मा प्रकाशित
बैतडी । बैतडीमा किराना सामान बोकेको जिप दुर्घटना भएको छ । अत्तरियाबाट सुइलेकतर्फ आइरहेको सुदूरपश्चिम प्रदेश ०१००१ च ३४७५ नम्बरको महेन्द्रा बोलेरो पिकअप जिप बैतडीको पुर्चौडी नगरपालिका–६ मुडेलीधार भिडेखोलास्थित भित्री सडकखण्डमा सोमबार दिउँसो दुर्घटनामा परेको हो ।
जिप चालक बझाङको बित्थडचिर गाउँपालिका–२ का हरिशबहादुर खड्काले हाम फालेर ज्यान जोगाएका छन् ।
जिपमा उनीमात्रै सवार रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूले बताए । चालक खड्का अहिले फरार रहेका उनले बताए ।
किराना सामान बोकेर गइरहेको जिप उकालोमा चढ्न नसकेर ब्याक हुँदा सडकबाट ५ सय मिटर तल खसेको प्रहरी निरीक्षक बडूले बताए ।
दुर्घटनामा परेर जिप पुर्ण रुपमा क्षतिग्रस्त भएको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।