धनगढी पोष्ट
शुक्रबार, ३० जेठ २०८२ मा प्रकाशित
धनगढी । सुदूरपश्चिममा नौ दिनमा १९ जना कोरोना संक्रमित फेला परेका छन् । प्रदेशमा जेठ २१ गतेदेखि बिहीवारसम्म कोरोना संक्रमितको संख्या १९ पुगेको छ । जसमध्ये आठ जना निको भइसकेका छन् ।
भारतमा कोरोना संक्रमण बढेपछि त्यहाँबाट फर्किने नेपालीहरुमा पनि संक्रमण देखा परिरहेको छ ।
गौरीफन्टा हेल्थ डेस्कका प्रमुख गणेश साउदका अनुसार बिहीवारमात्रै ३१ जनामा एन्टीजेन परीक्षण गर्दा तीन जनाको रिपोर्ट पोजेटिभ आएको हो । भारतबाट फर्किने शंकास्पद नेपालीहरूमा कोरोना परीक्षण गर्ने काम भइरहेको छ ।
जेठ २१ गते कैलालीको गौरीफन्टा नाकामा ३६ जनामा एन्टीजेन परीक्षण गर्दा तीन जनाको रिपोर्ट पोजेटिभ आएको थियो भने जेठ २३ गते गौरीफन्टा नाका ३० जनामा एन्टीजेन परीक्षण गर्दा पाँच जनामा कोरोना संक्रमण देखिएको थियो ।
यसैगरी, जेठ २४ गते बैतडीको झुलाघाट नाका र गौरीफन्टा नाका गरेर २८ जनामा एन्टीजेन परीक्षण गर्दा एक जना झुलाघाट र तीन जना गौरीफन्टा नाकामा गरेर चार जनामा कोरोना संक्रमण देखिएकोे थियो । जेठ २६ गते गोरीफन्टा नाकामा १० जनामा एन्टीजेन परीक्षण गर्दा एक जनामा कोरोना संक्रमण देखिएको थियो ।
यस्तै, जेठ २७ गते झुलाघाट नाका र गौरीफन्टा नाका गरेर १४ जनामा एन्टीजेन परीक्षण गर्दा एक जना झुलाघाट र एक जना गौरीफन्टा नाकामा गरेर दुई जनामा कोरोना संक्रमण देखिएको थियो ।
हेल्थ डेस्कका प्रमुख साउदले भने, ‘लक्षण देखिएका शंकास्पदमाथि मात्रै अहिले जाँच गरिरहेका छौँ । प्रत्येक दिन संक्रमण देखा परिरहेको छ,’ । अहिले आफूहरु सँग पाँच सय जति एन्टीजेन किट मौज्दात रहेको उनले बताए ।
भारतसँग सीमा जोडिएका प्रदेशका चारवटा क्षेत्रमा हेल्थ डेस्कमार्फत शंकास्पद बिरामीको ‘एन्टिजेन’ परीक्षणको व्यवस्था गरिएको स्वास्थ्य निर्देशनालय डोटीका कीटजन्य रोग अधिकृत हेमराज जोशीले बताए ।
उनका अनुसार कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफण्टा, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाट सीमानाकामा रहेका हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीहरूले कोरोनाका शंकास्पद बिरामीको पहिचान गरी एन्टिजेन परीक्षणको कार्य गरिरहेका छन् ।
’कोरोना परीक्षणका लागि प्रयोग हुने किट चारवटै हेल्थ डेस्कमा पु¥याई परीक्षण कार्य भइरहेको छ’, जोशीले भने, ’किटको आपूर्ति थोरै मात्रामा भएकाले आवागमनलाई मध्यनजर गरी प्राथमिकताका आधारमा उपलब्ध गराएका छौँ ।’
हाल झुलाघाटलाई ५५, पुलघाटलाई २५, गड्डाचौकीलाई एक सय र गौरिफण्टा हेल्थ डेस्कलाई एक सय ५० किट उपलब्ध गराइएका छन् ।
प्रदेशमा थप किट आपूर्ति गरिदिनका लागि सम्बन्धित विभागमा पत्राचार गरिएको कीटजन्य रोग अधिकृत जोशीले बताए ।
उच्च शंकास्पद बिरामीको पहिचान गरी एन्टिजेन परीक्षण गर्ने व्यवस्था गरिएको उनले बताए । संक्रमितहरूमा साधारण लक्षण देखिने गरेकाले घरमै आइसोलेसनमा बस्ने गरी पठाउने गरेको उनले बताए ।
उनले अहिलेसम्म जटिल खालका बिरामी फेला नपरेको र यदी फेला परेमा अस्पतालमा भर्ना गरिने बताए ।
भारतमा कोरोना सङ्क्रमितको संख्या बढ्न थालेपछि सीमानाकामा रहेका हेल्थ डेस्कलाई सक्रिय पारिएको हो ।