धनगढी पोष्ट
आइतबार, ०१ असार २०८२ मा प्रकाशित
धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का युवा व्यवसायी सुरज विष्टले नेपालमै उत्पादित गाँजा (भागो) र अल्लोबाट बनेका कपडाको पसल सञ्चालनमा ल्याएका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मुख्यबजारस्थित बसपार्क नजिकै उनले व्यवसाय सञ्चालनमा ल्याएका हुन् ।
आफ्नै देशमा उत्पादित सामग्रीहरूलाई प्रोत्साहन गर्ने उदेश्यसका साथ व्यवसायी सञ्चालन ल्याएका विष्टले बताए । पहिले चरणमा आठ लाख रुपैयाँ लगानी गरेर सुरज हेम्प्स कोल्थ एण्ड कोसेली घर नाम दिएर व्यवसाय सञ्चालनमा ल्याएको सञ्चालक विष्टले बताए ।
पसलको आइतबार धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बुद्धिबहादुर खड्काले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा वडा अध्यक्ष खड्काले आयातित कपडा भन्दा आफ्नै देशमा उत्पादित कपडालाई प्रोत्साहन गर्न आवश्यक रहेको उल्लेख गरे ।
‘अर्कोको देशको उत्पादनलाई जहिले प्राथमिकता दिने गरेका छौँ ।’, उनले भने, ‘तर आफ्नै देशको उत्पादनलाई हामीले चिन्न सकेका छैनौँ । स्वदेशमा उत्पादन बस्तु उपभोग गर्नु सबैमा अनुरोध गर्दछु ।’

यस्तै, कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघका सचिव सुरेश पाण्डेले स्वदेशी उत्पादनलाई सबैले साथ दिन आवश्यक रहेको बताए । यसमा सरकारले समेत साथ दिन आवश्यक रहेको उनले बताए ।
सञ्चालक विष्टले तराईका लागि अल्लो र गाँजाबाट बनेका कपडा अति नै उपयोगी भएको बताए । अन्य कपडा भन्दा अल्लो या गाँजाबाट बनेका कपडाहरू टिकाउ पनि हुने उनले बताए । उनले न्यूनतम मूल्यमा खुट्टादेखि टाउको सम्मका सम्पूर्ण कपडाहरू आफ्नो पसलमा उपलब्ध रहेको बताए ।
कपडाका साथै चिया पत्ती, मह, चाउमिन, नुहाउने साबुन, चप्पल–जुता, बिस्कुट, झोला, टोपी, मोजा र तयारी पोसाकसमेत उपलब्ध रहेको विष्टले जानकारी दिएका छन् ।

अल्लो र गाँजाका कपडा एक छाना मुनि पाइने सुदूरपश्चिमकै पहिलो पसल रहेको उनले बताए । तराईका गर्मीका लागि उपयुक्त भएका हुँदा सम्पूर्णलाई प्रयोग गर्न उनले आग्रह समेत गरेका छन् ।