धनगढी पोष्ट मङ्गलबार, ०३ असार २०८२   June 17, 2025

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

अछाम । अछामको मङ्गलसेन नगरपालिकाले आफ्नो फोहोर मध्यपहाडी राजमार्गअन्तर्गत ठूलासैन–मङ्गलसेन सडक खण्डमा पर्ने पालेवन सामुदायिक वनमा फाल्ने गरेको छ।

मङ्गलसेन नगरपालिका-६ को मानव बस्तीको बीचमा नगरपालिकाले डम्पिङ साइट निर्माण गरेको थियोे । नागरिकलाई असर हुने भएपछि उक्त डम्पिङ साइट अलपत्र अवस्थामा छ। 

पालेवन सामुदायिक वन क्षेत्रमा अहिले फोहोरको थुर्पो देख्न सकिन्छ । बजार क्षेत्रबाट निस्किने फोहोर अहिले जङ्गलको सडक छेउछाउमा थुपारिएको छ।

घरबाट निस्कने फोहोर मात्रै होइन पसल, होटेलबाट निस्किने फोहोर प्लास्टिक, ब्वायलर कखुराको भुत्ला, मदिराका बोतलहरु लगायतका फोहोरले वन क्षेत्र दुर्गन्धित भएको छ।

यसरी जताभावी फोहोर फालिँदा जङ्गल नै कुरुप मात्र होइन, स्वास्थ्यको जोखिम बढेको स्थानीयले बताए। कुहिने र नकुहिने फोहोर एकै ठाउँमा हुँदा झन् सडक आसपासमा दुर्गन्ध फैलिने गरेको छ  ।

फोहोर हटाउन र त्यहाँ नफाल्न पालेवन सामुदायिक वन उपभोक्ता समितिको बैठकबाट निर्णय गरी पटकपटक नगरपालिकालाई पत्राचार गर्दा पनि नगरपालिकाले कुनै सुनुवाइ नगरेको पालेवन सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष यज्ञप्रसाद ढुङ्गानाले बताए।

नगरपालिकाले करिब एक वर्षदेखि यहाँ  फोहोर फ्याँकिरहेको उनले जानकारी दिए। रासस