धनगढी पोष्ट आइतबार, २२ भदौ २०८२   September 7, 2025

दैजी–जोगबुढा सडकलाई १९ करोड ५० लाख बजेट

दैजी–जोगबुढा सडकलाई १९ करोड ५० लाख बजेट

कञ्चनपुर ।  दैजी–जोगबुढा सडकले १९ करोड बढी बजेट पाएको छ। सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक गरेको बजेट अनुसार आगामी आर्थिक वर्ष २०८२/०८३ मा १९ करोड ५० लाख बजेट पाएको हो।

आर्थिक मामिला मन्त्रालयका अनुसार पूर्वाधार विकास कार्यालय डडेल्धुरा मार्फत दैजी–जोगबुढा–पोखरा–ढुंगाड सडक खण्डका लागि प्रदेश सरकारले एक करोड ४० लाख रुपैयाँ बिनियोजन गरिएको छ। सोही खण्डमा संघ सरकारले २ करोड ६० लाख रुपैयाँ विनियोजन गरेको छ।

यस्तै दैजी–लिपना–जोगबुढा–सलौन–पोखरा–ढुंगाड सडकका लागि प्रदेश सरकारले १५ करोड बिनियोजन गरेको छ। यस्तै पुर्वाधार विकास कार्यालय कञ्चनपुर मार्फत काम हुनेगरी दैजी–लिपना खण्डमा ५० लाख रुपैयाँ विनियोजन गरिएको छ।

यो सडकमा कञ्चनपुर खण्डमा नार्गाजुन कन्स्ट्रक्सनले काम गरिरहेको छ। अहिलेसम्म कालोपत्रेको प्रगति २० प्रतिशत भन्दा कम छ। पूर्वाधार विकास कार्यालय कञ्चनपुरका सूचना अधिकारी लक्ष्मण राज जोशीका अनुसार गत बर्ष यही २०८२ असार २० गतेभित्र निर्माण सम्पन्न गर्ने गरी पाँचौँ पटक म्याद थप भइसकेको छ। 
यता डडेल्धुरा खण्डमा पनि कालोपत्रेको काम भइरहेको छ। राजेन्द्र शर्मा जेभीले कालोपत्रका लागि पाएको म्याद असार मसान्तमा सकिँदैछ।

तर, १२ मध्ये दुई किलोमिटर मात्र कालोपत्र भएको छ। पाँच किलोमिटर कालोपत्रेको चरणमा रहेको पूर्वाधार विकास कार्यालय डडेल्धुराका प्रमुख नवराज रावलले बताए। 

१९ करोड लागत लिपनादेखि गाईबाधे खण्डमा मात्र आवश्यक पर्ने भन्दै बजेट अभावले काम सुस्त रहेको बताए। सो क्षेत्रमा ५० प्रतिशत भौतिक प्रगति भएको छ। दैजी–जोगबुढा सडकको ट्रर्याक खुलेको ४० वर्ष पुुगिसकेको छ भने कालोपत्रे सुरु भएको आठ वर्ष बित्दा पनि काम पूरा भएको छैन।

डडेल्धुराको आधा जनसंख्यालाई कञ्चनपुरसँग जोड्ने तथा भीमदत्त राजमार्गको विकल्प समेत मानिएको यो सडक पछिल्लो समय राजनीतिक नेतृत्वको प्राथमिकतामा समेत पर्न छाडेको छ।

गत वर्ष कांग्रेस सभापति शेरबहादुर देउवाले संघ सरकारमार्फत सो सडकमा ३८ करोड विनियोजन गराए पनि प्रदेशको ठेक्का कायम रहँदा बजेट फ्रिज भएको थियो।