समाजसेवामा गौरीगंगा एघार स्पोर्ट क्लब

समाजसेवामा गौरीगंगा एघार स्पोर्ट क्लब

धनगढी

      गौरीगंगा नगरपालिकाको मसुरियामा रहेको गौरीगंगा एघार स्पोर्ट क्लब सामाजिक सेवामा जुटेको छ ।  कोरोनाका कारण सबै क्षेत्र समस्यामा रहेका वेला उक्त क्लबले क्वारेन्टाईनमा बसेकाहरुलाई बिभिन्न खालको सहयोग देखि रक्तदान सम्मका कार्यहरु गरिरहेको छ ।

     बिश्वब्यापी रूपमा फैलिएको महामारी कोरोना भाइरस र लकडाउनका कारण रगतको अभावले बिरामीको उपचारमा समस्या देखिएकाले रक्तदान कार्यक्रम गरिएको क्लबका अध्यक्ष दिनेश कलेलले बताए । उनले भने–‘अहिले कोरोना भाईरसका कारण समाजका हरेक क्षेत्र समस्यामा छन्, यस वेलामा थोरै भएपनि केही सहयोग पुगोस भनेर बिभिन्न सामाजिक गतिबिधि गरिरहेका छौ ।

    

गौरीगंगा एघार स्पोर्ट्स क्लबले मसुरियामा आयोजना गरेको रक्तदानमा ४० जनाले रक्तदान गरेको अध्यक्ष कलेलले जानकारी दिए ।  यसैगरी  क्लबले गौरीगङ्गा नगरपालिकाको वडा नं ८ स्थीत सरस्वती मा.वि बढैपुर,जनप्रिय उ.मा.वि लिक्मा,सृजनसिल प्रा.वि लिक्मा र त्रिपुरेस्वरी मा.वि लिक्मामा क्वारेन्टाईनमा रहेका  १ सय ७७ जनालाई जुस दिएको छ । अध्यक्ष कलेलले यस अघि पनि क्लबले खेलकुद संगै बिभिन्न सामाजिक कार्य गर्दै आएको र अहिलेको अपठ्यारो परिस्थितीमा झनै सकृय भएर सामाजिक कार्यमा जुटेको बताए ।