धनगढी पोष्ट
शुक्रबार, २० भदौ २०८२ मा प्रकाशित
नेपाल सरकारले सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेसँगै एक्स, विच्याट र हाम्रोपात्रोले सूचीकरणका लागि चासो देखाएका छन् ।
इन्टरनेट सेवा प्रदायकहरूले सरकारी निर्देशन अनुसार शुक्रबारदेखि ती सञ्जालहरू अवरुद्ध गर्न थालेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार, प्रतिबन्धको निर्णयपछि शुक्रबार बिहानसम्म तीन कम्पनी सम्पर्कमा आएका हुन् ।
‘सूचीकरणका लागि एक्स, हाम्रोपात्रो र विच्याटले चासो देखाएका छन् । हाम्रोपात्रो प्रक्रियामा अग्रसर भइसकेको छ ।’ प्रवक्ता ठाकुरले भने, ‘विच्याटले पनि निर्णयप्रति ध्यानाकर्षण भएको जनाउँदै प्रक्रिया अघि बढाउन प्रतिनिधि पठाएको छ ।’
गत साता मन्त्रालयले सूचीकरणका लागि दिएको एक साताको समयसीमा बुधबार राति सकिएपछि सरकारले यस्तो कदम चालेको हो ।
सरकारले मोबाइल तथा इन्टरनेट सेवाप्रदायक कम्पनीहरू मार्फत आफ्नो निर्णय कार्यान्वयन गरिरहेको छ । इन्टरनेट सेवा प्रदायक सङ्घ (आईएसपीएएन) का अनुसार, वेबसाइटमा आधारित पहुँच बन्द भइसके पनि एपहरूमा पुर्ण रूपमा बन्द हुन शुक्रबार मध्यरातसम्म लाग्नेछ ।
आईएसपीएएनका अध्यक्ष सुधीर पराजुलीले भने, ‘यी अधिकांश एपमा आधारित सेवा भएकाले इन्टरनेट खपतमा पर्ने प्रभावको वास्तविक लेखाजोखा त्यसपछि मात्र थाहा हुनेछ । बन्दपछि कति ट्राफिक भीपीएनतर्फ मोडिन्छ भन्ने पनि मुल्याङ्कन गरिनेछ ।’