धनगढी पोष्ट
शनिबार, २१ भदौ २०८२ मा प्रकाशित
कञ्चनपुर । गृहमन्त्री रमेश लेखकले दोधारा–चाँदनीमा निर्माण हुने सुक्खा बन्दरगाहको शिलान्यास प्रधानमन्त्रीको आगामी भारत भ्रमणका क्रममा हुने दावि गर्नु भएको छ ।
शनिबार नेपाली काँग्रेस कञ्चनपुर प्रतिनिधिसभा क्षेत्र नं ३ प्रशिक्षण विभागले दोधारा–चाँदनीमा आयोजना गरेको प्रशिक्षणमा गृहमन्त्री लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी भारत भ्रमणका बेला दुवै देशका प्रधानमन्त्रीले दोधारा–चाँदनीमा बन्ने सुक्खा बन्दरगाह निर्माणको संयुक्त रुपमा शिलान्यास गर्ने बताएका हुन् ।
कुनैबेला आकाशमा बादल देख्नेबित्तिकै बाढीको त्रासमा बस्नुपर्ने दोधारा–चाँदनीबासीको अवस्था फेरिएको उनले बताए । महाकाली र जोगबुढा नदीमा बाँध बनेपछि दोधारा–चाँदनी सुरक्षित बनेको उनको भनाइ छ ।
उनले मुलुकमा संविधान निर्माणका लागि नेपाली काँग्रेसले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै संविधानको रक्षा पनि काँग्रेसले गर्नुपर्ने धारणा राखेका छन् । गणतान्त्रिक शासन व्यवस्था सुदृढ गर्न काँग्रेसको भूमिका महत्त्वपूर्ण रहेको उनको भनाइ थियो । वर्तमान सरकारले नीतिगत र कानुनी सुधार गरेको उल्लेख गर्दै उनले यसमा कर्मचारीको ठूलो सहयोग रहेको बताए ।