धनगढी पोष्ट
बिहिबार, २६ भदौ २०८२ मा प्रकाशित
जेएनजी आन्दोलनका क्रममा जिल्ला कारागार कन्चनपुरबाट भागेका एक कैदी दोश्रो दिन नै बलात्कार प्रयासको मुद्धामा पक्राउ परेका छन् । कन्चनपुरको दोधाराचाँदनी नगरपालिका–१ का ३५ वर्षीय दीपक सुनार फेरि बलात्कारकै प्रयास गरेको आरोपमा पक्राउ परेका छन् ।
सुनारलाई दोधाराचादनी नगरपालिकाकै एक ५० वर्षीया महिलालाई बलात्कारको प्रयास गरेको प्रहरीले जनाएको छ । गत बुधबार खाना खाएर सुतेकी ती महिलालाई सुनारले जबरजस्ती गर्न खोजेपछि ती महिला चिच्याएपछि सुनार भागेका थिए । भाग्दै गरेका सुनारलाई स्थानीयले खेतबाट नियन्त्रणमा लिएर प्रहरीकहा बुझाएका थिए ।
जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रमुख तथा एसपी खडकबहादुर खत्रीका अनुसार, स्थानीयले पक्राउ गरेर बुझाएका उनलाई अहिले कारागारमा राखिएको छ ।
सुनार यसअघि पनि बलात्कै कसुरमा जेल परेका व्यक्ति रहेको बोहराले बताए । एक महिलालाई बलात्कार गरेको घटनामा उनलाई अदालतले दोषी ठहर गरेर ९ वर्ष कैद सजाय तोकेको थियो ।
जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रवक्ता सागर बोहराका अनुसार कन्चनपुर कारागारमा ४७९ कैदीबन्दी थिए । तीमध्ये २१ जना बाहेक सबै कैदीबन्दी फरार भएका थिए ।