धनगढी पोष्ट
मङ्गलबार, ०२ मङि्सर २०८२ मा प्रकाशित
काठमाडौँ । श्री एयरलाइन्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सको ‘डोमेस्टिक एयरलाइन्स’ पार्टनर बनेको छ ।
सुदूरपश्चिम रोयल्स र श्री एयरलाइन्सबीच शुक्रबार काठमाडौँमा एक सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्का र श्री एयरलाइन्सका कर्पोरेट निर्देशक अनिल मानन्धरले हस्ताक्षर गरे ।
सम्झौतापछि बोल्दै सुदूरपश्चिम रोयल्सका सीईओ प्रकाश खड्काले नेपालकै प्रतिष्ठित एयरलाइन्ससँग साझेदारी गर्न पाउँदा खुसी व्यक्त गरे । उनले भने, ‘श्री एयरलाइन्ससँग सम्झौता गर्न पाउँदा धेरै खुसी छौँ । यो सम्झौताले नेपालको खेल क्षेत्र र एयरलाइन्स क्षेत्र दुवैलाई एकताबद्ध बनाएको छ ।’
यसैगरी, श्री एयरलाइन्सका कर्पोरेट निर्देशक अनिल मानन्धरले यो साझेदारीलाई एयरलाइन्स क्षेत्रका लागि सुखद पक्ष भएको बताए । मानन्धरले भने, ‘श्री एयरलाइन्स सुदूरपश्चिम रोयल्ससँग जोडिन पाउँदा हामीलाई खुसी लागेको छ । यसलाई एक ऐतिहासिक साझेदारीका रूपमा लिएका छौँ ।’
श्री एयरलाइन्सको बारे
श्री एयरलाइन्सले नेपालका यात्रुहरूलाई टर्बोजेट, (म्याच८) अनुभव प्रदान गर्ने एक अग्रणी एयरलाइन्स हो । श्री एयरलाइन्सले देशको राजधानीबाट भद्रपुर, भैरहवा, धनगढी, विराटनगर र नेपालगन्ज गरी पाँच प्रमुख गन्तव्यमा उडान गर्दै आन्तरिक यात्रालाई सहज बनाएको छ । यो विमान अन्य सामान्य विमानको तुलनामा छिटो यात्रा गर्छ । विमानमा रहेको ट्वीन टर्बोफ्यान जेट इन्जिनले यसलाई ७९० किमी/घण्टा र ८६० किमी/घण्टाको बीचमा तीव्र क्रुज स्पीडमा उड्न मद्दत गर्छ ।