धनगढी पोष्ट
मङ्गलबार, ०२ मङि्सर २०८२ मा प्रकाशित
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) चितवन राइनोजले कर्णाली याक्सलाई मंगलबार ४ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
कर्णालीले दिएको १६७ रनको लक्ष्य चितवनले पाँच बल बाँकी छँदै ६ विकेट गुमाएर पूरा गर्यो । चितवनका लागि ओपनर रवी बोपाराले अर्धशतक प्रहार गरे ।
ओपनर दीपक बोहराले ४२ रन बनाए। डविड मलान ६ रन र देव खनाल २ रनमा आउट भए । कप्तान कुशल मल्लले १५ बलमा २ छक्काको मद्दतमा २० रन बनाए। सैफ जैबले १६ बलमा जोडेको ३८ रन महत्वपूर्ण रन बनाए ।
बलिङमा कर्णालीका कप्तान सोमपाल कामीले २ विकेट लिँदा मार्क वाट, युनिस ठकुरी र युवराज खत्रीले १-१ विकेट लिए ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको चितवनले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको कर्णालीले ३ विकेटको क्षतिमा १६६ रन बनायो ।
कर्णालीका लागि ओपनर प्रियाङ्क पन्चालले सर्वाधिक ९० रनको योगदान दिए। उनी शतक बनाउनबाट १० रनले चुके । पहिलोपटक एनपिएल खेलिरहेका पञ्चालले ४८ बलमा सात चौका र ६ छक्काको मद्दतमा सर्वाधिक ९० रन बनाएका हुन् । यस संस्करणमा अर्थशतक बनाउने उनी दोस्रो खेलाडी बनेका छन् ।
त्यसैगरी कर्णालीका लागि म्याक्स ओडाउडले ३० बलमा एक चौका हान्दै २० रन बनाए। मार्क वाटले २१ बलमा एक चौकाको मद्दतमा १६, पवन शर्राफले अविजित २७ तथा नाजिबुल्लाह जद्रानले अविजित चार रन बनाए।
बलिङमा चितवनका बोपारा, जइब र तन्विरले १-१ विकेट लिए।