धनगढी पोष्ट
शनिबार, २० मङि्सर २०८२ मा प्रकाशित
धनगढी । दाइजो कृषि सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारण सभा एवम पाँचौ अधिवेशन कालीराम रानाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै शनिबार धनगढीमा सम्पन्न भएको छ ।
निर्विरोध चयन भएको कार्यसमितिको उपाध्यक्ष मनिसा राना, सचिव दिपक राज जोशी रहेका छन् । सहकारीको कार्यसमिति सदस्यमा शिवराज राना, श्याम राना, बिट्टोदेवी राना, रामऔतार राना, भागीराम राना, रुपारोन राना, प्रेम बहादुर डगौरा र लाभमति राना रहेका छन् ।
अधिवेशनले नन्दगोपाल रानाको संयोजकत्वमा लेखा समिति गठन गरेको छ । लेखा समितिको सदस्यमा भगिरथ राना र निर्मला राना चौधरी रहेका छन् ।
यसअघि साधारण सभा एव अधिवेशनको उद्घाटन गर्दै सुदुरपश्चिम सरकारका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बीर बहादुर रानाले प्रदेश सरकारले किसानहरुलाई कृषि कार्यक्रम गर्न बिभिन्न सहयोगका कार्यक्रमहरु ल्याएको बताउँदै सरकार र किसानका बीच सम्वन्ध सेतुका रुपमा सहकारीले काम गर्नु पर्ने बताए ।
धनगढी उपमहानगरपालिकालाई भैसी र तरकारीको पकेट क्षेत्रका रुपमा प्रदेश सरकारले छुट्याएको बताउँदै मन्त्री थापाले भने दाइजो कृषि क्षेत्रमा नै काम गर्ने सहकारी भएकोे सरकार र किसानका बीचमा यसले सम्वन्ध जोड्ने काम गर्नु पर्छ ।
तरकारी उत्पादन गर्न सक्ने र भैसी पालन गर्न सक्ने किसानहरुको विवरण संकलन गरेर सरकारलाई सहकारीले सिफारिश गरे काम गर्न सहज हुने मन्त्री थापाले बताए ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष मोती रानाले उपमहानगरपालिकाले वडा नम्बर ७ र १६ लाई कृषि क्षेत्रका रुपमा छुट्याएको बताउँदै वडा नम्बर ७ मा नै कृषिको हाटबजार स्थापनामा सहकारीले पहल लिनु पर्ने बताए । टाढा टाढाबाट उपमहमनगरपालिकाको हाटबजारमा जान सबै किसानलाई सहज नहुने बताउँदै अध्यक्ष रानाले वडा नम्बर ७ मा नै गर्न उपयुक्त हुने बताए ।
कृषि ज्ञान केन्द्र धनगढीका प्रमुख टेक बहादुर बिष्टले कृषि ज्ञान केन्द्र सहकारी मार्फत नै किसानहरुलाई सहयोग गरिरहेको बताउदै सहकारीले रोजगारी सृजना र गरिबी न्युनीकरणमा भुमिका निर्वाह गर्न आवश्यक रहेको बताए ।
जिल्ला सहकारी संघ कैलालीका अध्यक्ष फणिन्द्र सापकोटाले सहकारीका कार्यक्रमहरु शेयर सदस्यले बुझुन सक्ने गरि गर्न आवश्यक रहेको बताए ।
सहकारीका अध्यक्ष मान बहादुर रानाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा भुमि समस्या समाधान बिज्ञ सदस्य एवम राना थारु समाजका केन्द्रिय अध्यक्ष कमल राना, दिर्घराज जोशीले मन्तव्य व्यक्त गरेका थिए । सचिव दिर्घराज जोशीले संचालन गरेको उक्त कार्यक्रममा सहकारीका व्यवस्थापक बासुदेव रानाले बार्षिक कार्यक्रम प्रस्तुत गरेका थिए भने संस्थापक अध्यक्ष चन्द्रकिरण रानाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
उक्त कार्यक्रममा सहकारीका बिकासमा उल्लेख्य भुमिका निर्वाह गरेकोमा सहकारीका स्ंस्थापक अध्यक्ष चन्द्रकिरण राना र शेयर सदस्य बालसुग्रिव रानालाई सम्मानित गरिएको थियो ।
२०६९ मा स्थापना भएको सहकारीका हाल ६ शय ४९ शेयर सदस्य रहेका छन् । ६४ लाख ७० हजार शेयर पुजी रहेको यस सहकारीको लगानी ४ करोड ६४ लाख र बचत ६ करोड १४ लाख ५४ हजार रहेको छ ।