बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकाको नगर भवन निर्माण ठेक्का प्रक्रियामा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालिन मेयर र कर्मचारी बिरुद्ध विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको छ ।
अख्तियारका प्रवक्ता सागर न्यौपानेका अनुसार ठेक्कामा मिलेमतो गरी बोलपत्रका सर्तहरू बदनियतपूर्वक संशोधन गरिएको, प्रतिस्पर्धा सीमित पारिएको र न्यूनतम कबोल गर्ने निर्माण व्यवसायीलाई अयोग्य बनाई बढी कबोल गर्ने कम्पनीलाई ठेक्का दिइएको देखिएपछि भ्रष्टाचार मुद्दा दायर गरिएको हो । तत्कालीन नगर प्रमुख दीपकविक्रम शाहसहित कर्मचारी र ठेकेदारविरुद्ध तीन करोड २७ लाख ७८ हजार रुपियाँ बिगो कायम गर्दै आइतबार अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारले दायर गरेको मुद्दामा तत्कालीन नगर प्रमुख शाह, नगरपालिकाका प्रशासकीय तथा प्राविधिक कर्मचारी र निर्माण कम्पनीका प्रतिनिधिविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद, जरिवाना र बिगो असुल उपरको माग दाबी गरिएको छ ।