लकडाउन खुकुलो

काठमाडौं  

    ८० दिन लामो लकडाउनपछि सरकारले लकडाउन खुकुलो पार्ने योजना ल्याएको छ । मन्त्रीपरिषद्को बुधबार बसेको बैठकले लकडाउन खुकुलो पार्ने २१ दिने योजना सार्वजनिक गरेको छ ।

  योजना अनुसार शुक्रबारदेखि उपत्यकाभित्र र अन्यत्र जिल्ला भित्र निजी सवारी साधन जोर बिजोर प्रणालीमा चलाउन पाइने भएको छ । तर सार्वजनिक यातायातका साधन,  अन्तरिक तथा बाह्य हवाई  सेवा अहिले  पनि बन्द नै रहनेछन् ।

  यस्तै पसल र डिपार्टमेन्ट स्टोरहरु खोल्न पाइनेछ । तर सपिङ मलहरु खुला हुने छैनन् । रेष्टुरेन्टहरु प्याकिङ र टेक अवे सेवा दिने गरी खुला गर्न सकिने छ भने क्वारेन्टिन बनाइएका बाहेकका होटलहरु बन्द नै रहनेछन् ।

   सबै सरकारी, निजी र बित्तीय संस्थाका कार्यालय खुल्नेछन् । तर बिहान ८ देखि दिउँसो १ र दिउँसो १ देखि  साँझ ६ बजेसम्म दुई सिफ्टमा चलाउनु पर्नेछ ।

    विद्यालय तथा शैक्षिक संस्थाहरु भने बन्द रहनेछन् । सभा समारोह, प्रदर्शन गर्न पाइने छैन भने सिनेमा हल, डान्सबार, पुस्तकालय, संग्रहालय, समूहमा खेलिने खेल, स्वीमिङ पुलहरु पनि खुला हुने छैनन् ।

   सरकारले तोकेका २० बाहेक अरु अन्तर्राष्ट्रिय सीमा नाका पनि बन्द नै रहनेछन् । अर्थमन्त्री डा. युवराज खतिवडाका अनुसार  शैक्षिक संस्थाहरु (यसभित्र विद्यालय, कलेज, ट्युसन सेन्टर र तालिम केन्द्रहरु), अनुमति प्राप्त बाहेकका अन्तरराष्ट्रिय र आन्तरिक उडानहरु, तोकिए बाहेकका अन्तरराष्ट्रिय सीमा नाकाबाट हुने आवतजावत, सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सबै प्रकारका प्रदर्शन, भेला तथा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार लगायतका मनोरञ्जनस्थल, सार्वजनिक पुस्तकालय संचालन हुने छैनन्  ।

  यसैगरी संग्रहालय, चिडियाखाना, स्पा, सैलुन र ब्यूटीपार्लर, स्विमिङ पुल, जिमखाना लगायतका हेल्थ क्लबहरु, सपिङ मलहरु, समूहमा खेलिने खेलकुद र खेल मैदानमा हुने प्रस्तुतिहरु, सबै प्रकारका धार्मिक तथा सामाजिक स्थलहरु, यात्रुबाहक सार्वजनिक सवारी साधन, पर्यटक सवारी साधन समेत संचालन गर्न पाईने छैनन् ।

    काठमाडौं उपत्यकाको हकमा काठमाडौं उपत्यकाभित्र र अन्य जिल्लाको हकमा सोही सम्बन्धित जिल्लाभित्र मात्र जोर बिजोर प्रणालीमा सञ्चालन हुने निजी सवारी साधन बाहेकका अन्य निजी सवारी साधन  संचालन गर्न नपाईने खतिवडाले जानकारी दिएका छन् ।