परदेशबाट फर्केकाको गुनासो ‘हाम्रो पैसा समेत चल्दैन’

परदेशबाट फर्केकाको गुनासो  ‘हाम्रो पैसा समेत चल्दैन’

नृप रावल

धनगढी

     बाजुराको खप्तडछेडेदह गाउँपालिका वडा नम्बर १ काँडाका गणेश रावल रोजगारीको शिलशिलामा भारतको नयाँ दिल्ली बस्दै आएका  थिए । विश्वभर फैलिएको कोरोना संक्रमण बढ्दै गएपछि भारतले  लकडाउन ग¥यो । लकडाउन लागू गरेसँगै रोजगारी पनि गुम्यो, जसोतसो २ महिनासम्म उतै बसे । 

   लकडाउन खुल्ने कुनै छाँटकाट नदेखेपछि भारतबाट उनी सहित अन्य धेरै स्थानीय गाउँ  फर्किए । गणेशसँगै आएका सबैलाई खप्तडछेडेदह गाउँपालिका १ स्थित काडाँ भवानी उच्च माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा राखियो । सम्भावित संक्रमणबाट जोगिन सरकारको निर्देशन अनुसार नै क्वारेन्टाइनमा बसेका उनलाई त्यहाँको व्यवस्थापन देखेर दिक्क लागेको छ । क्वारेन्टाइन त बेहाल अवस्थामा थियो नै, स्थानीयले गरेको व्यवहारबाट झनै दुख लागेको गणेश बताउँछन् ।

    क्वारेन्टाइन नाम मात्रैको भएको त्यहाँ बसिरहेकाहरुको गुनासो छ । भारत लगायत अन्य स्थानबाट आएका करिब ७० देखि ८० जनासम्म काडाँ भवानीको क्वारेन्टाइनमा बसिरहेका छन् तर, त्यहाँ क्वारेन्टाइनको मापदण्ड त टाढाको कुरा हो, आधारभुत आवश्यकता नै पूरा भएको छैन ।

  रोजगारीका लागि प्रायः सबै युवा भारतमा छन् । भारतले बस तथा रेल सेवा सुचारु गरेसँगै घर फर्किनेहरुको लर्को छ । क्वारेन्टाइनमा बस्नेको संख्या बढेसँगै उनीहरुको व्यवस्थापन र खानपानमा झन् फितलो बन्दै गएको छ । क्वारेन्टाइनमा दिइने खाना निल्नै नसक्ने हुन्छ । त्यसैले चाउचाउ र बिस्कुट खाने गरेको छु क्वारेन्टाइनमा रहेका एक युवाले भने– ‘नलपराल र बोरा ओछयाएर भुँईमा सुत्नुपर्छ ।

  विद्यालयमा बनाइएको क्वारेन्टाइनमा खानेपानी र शौचालयको सबै भन्दा बढी समस्या रहेको उनले बताए । ८० जनाका लागि एकमात्र धारा छ भने शौचालय पनि कम छ । सेनेटाइजर र साबुन घरबाटै मगाउनु परेको उनले बताए ।

   त्यही वडाको दुर्गा भवानीमा बनाइएको क्वारेन्टाइको अवस्था पनि उस्तै छ, करिब ४० जना बसिरहेको क्वारेन्टाइनमा पानीको व्यवस्था छैन । सौचालय तथा व्यक्तिगत सरसफाइका लागि साबुन र सेनिटाइजरको समेत नदिएको काठमाडौंबाट गएका हिक्मत रोकायाले गुनासो गरे ।

उनका अनुसार आवश्यक मापदण्ड पूरा नगरि बनाइएको क्वारेन्टाइमा सरकारले जारी गरेको निर्देशनको पालना भएको छैन । एक कोठामा एक जना अथवा आवश्यक दुरी कायम गरी बेडहरु राख्नुपर्ने भएपनि सबैलाई एउटैमा जोडिएका छन् । उनले भने–‘सामाजिक दुरीको त पालना भएका छैन नै, एउटै कोठामा १०१२ जना बस्नेगरी प्रबन्ध मिलाइएकाले सम्भावित संक्रमणका डर छ । 

     यी त केही प्रतिनिधि उदारण मात्रै  हुन् । गाउँपालिकामा बनाइएका अधिकांश क्वारेनटाइनको अवस्था यस्तै छ । यसरी मापदण्ड विपरित बनाइएका क्वारेन्टाईन त्यहाँ बसेका नागरिकलाई सास्ती मात्रै भएको छैन, सम्भावित संक्रमणको खतरा समेत बढाइ दिएको छ ।

   वडाअध्यक्ष विरबहादुर रावल भने क्वारेन्टाइन व्यवस्थापनमा कमजोरी नभएको बताउँछन । सम्पूर्ण स्रोत र साधनको प्रयोग गरी कुनैपनि कुराको कमी हुन नदिएको उनको दावी छ ।

गाउँपालिकाले आर्थिक क्षमता र वातावरणको अनुकुल नै क्वारेन्टाइन बनाएर राख्ने व्यवस्था मिलाएको वडाअधयक्ष रावलले बताए । गाउँपालिकाको श्रोत साधनले जति धान्छ त्यसै अनुरुप धानिरहेका छौँ, उनले भने –‘क्वारेन्टाइनमा बस्नेको संख्या धेरै भएकाले केही कमजोरी भएको हुनसक्छ, त्यसको व्यवस्थापनमा हामी जुटिरहेका   छौं ।

स्थानीयको अवहेलना

    क्वारेन्टाइनमा बसेकोहरुले स्थानीयहरुबाट अवहेलना समेत सहनु परेको छ । अहिले बाहिरबाट आएकालाई हेर्ने दृष्टिकोण नै फरक भएको छ र उनीहरुलाई कोरोना ल्यायो है भन्दै स्थानीयले अवहेलना गर्ने गरेका छन् ।

    गाउँका पढेलेखेकाहरुबाटै यस्तो अवहेलना भएपछि झनै खिन्न बनाएको काठमाडौंबाट घर खप्तडछेडेदह १ सेरागाउँ फर्किएका टेकबहादुर रोकायाको गुनासो छ । जानेबुझेकाहरुबाटै पनि अवहेलना गर्ने काम भएको छ, गाउँलेले त झनै राम्रो व्यवहार गर्ने कुरै भएन, उनले दुखेसो पोखे ।

  बाटोमा हिँड्दा पनि गाउँलेबाट अपहेलित हुनुपरेको उनले बताए । बाटोमा हिँड्यो गाउँका मान्छेहरु कोरोना ल्यायो भन्छन्, साह्रै चित्त दुख्छ, उनले   भने । उनका अनुसार बसबाट ओर्लिएदेखि क्वारेन्टाईन सम्म पुग्दा गाउँलेहरुले आफू हिड्ने बाटा ेसमेत हिड्न दिएका छैनन् ।

   वडा नम्बर १ का स्थानीय सडकदेखि साढे ४ घण्टाको पैदलयात्रा पछि मात्रै गाउँको स्कुलमा बनाएको क्वारेन्टाइनमा पुग्ने गर्छन । त्यहाँसम्म पुग्न आफुहरुले थुप्रै सास्ती खेप्नुपरेको भारतबाट फर्किएका कृष्ण रावलले  बताए । हामी हिड्नका लागि छुट्टै बाटो बनाएको रहेछ, उनले भने– ‘साविककै बाटो हिड्न खोज्दा ठाउँठाउँमा रहेका चिनेजानेकै आफन्तले नकारे र अर्काेबाटो भएर यहाँसम्म पुगेका छौं ।

   बाहिरबाट फर्कनेहरुका लागि सडकदेखि भारतबाट फर्केकालाई अर्कै बाटोबाट क्वारेन्टाइन स्थल पु¥याउने गरेका छन् । उनीहरुका हिडेको बाटो गाउँहरु हिड्दैनन् । यतिमात्रै होइन भारत लगायत अन्य स्थानबाट घरफर्केकाहरुलाई पसलेहरुले सामान समेत दिदैनन् ।

  बाहिरबाट आएकालाई कोरोना आएको हुन्छ, उनीहरुको पैसामा समेत कोरोना सर्छ भन्ने मानसिकताले सामान नदिने गरेको हुन् । उनीहरुको पैसा गाउँमा साटिनै मुस्किल भएको छ ।

महामारीका नाममा मानवीयता गुम्यो !

    काठमाडौंबाट बाजुरा फर्किएका रोमिन शाहीले सामाजिक सञ्जालमा स्टाटस् लेखे– ‘महामारीका नाममा मानवीयता नगुमाऔं काठमाडौंमा कन्सल्टेन्सी सञ्चालन गरिरहेका उनले आफ्नै गाउँमा फरक व्यवहार पाए भने अन्यको अवस्था कस्तो होला ?

    विदेश वा स्वदेशबाट गाउँघर फर्किदा भेटघाट गर्न आउँने आफन्तहरु नै अहिले देख्ने बित्तिकै भाग्ने गरेका छन् र गर्ने व्यवहारमा निकै परिवर्तन आएको छ ।  विश्व अहिले कोरोना महामारीसँग लडिरहेको छ यो मानवीयता देखाउने बेला हो तर, ग्रामिण बस्तीदेखि शिक्षित समाजबाटै अवहेलना रहनु परिरहेको छ ।

    यो महामारीको बेला मानवीयता गुमाउनु हुँदैन । म आएको बसको सिट क्षमता ३६ जनाको थियो, हामी जम्मा २१ जना थियौ, सकेसम्म एक्लाएक्लै बसेर सबैले सुरक्षित साथ स्वास्थ्य सतर्कता र सावधानी पूर्ण रुपामा पालना गरेको थियो । काठमाडौबाट आउने सबै सुरक्षित बसेर आएका हुन्छन्, शाही लेख्छन्– ‘यता गाउँमा पुरै कोरोना लागेर आएको जसरी हेर्ने दृष्टिकोण देखियो, कतै हामीले सतर्कताको बहानामा कोभिड१९ बाट संक्रमित नागरिक, तिनका परिवार र आफन्तलाई घृणा त गर्दै छैनौं ? तिनीहरुमाथि मानसिक यातना र अमानवीय व्यवहार त प्रदर्शन गरिरहेका छैनौं ? हेक्का राखौं, संसारमा मान्छेका लागि सबैभन्दा प्रिय जीव पनि मान्छे नै हो । महामारीका नाममा मानवीयता नगुमाऔं ।