धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

रातको समयमा पनि आलिताल अवलोकन गर्न सकिने

रातको समयमा पनि आलिताल अवलोकन गर्न सकिने

डडेल्धुरा

भित्रिमधेशको आलिताल गाउँपालिकास्थित पर्यटकीय गन्तव्य मनमोहक आलिताललाई रातीको समयमा पनि अवलोकन गर्न सकिने भएको छ ।

आलिताल गाँउपालिकाले सोलार वत्ती जडान गरेर आलिताललाई रात्रीकालिन समयमा पनि सहजै अवलोकन गर्न सकिने बनाईन चालु आर्थिक बर्षमा बजेट बिनियोजन गरिएको र चाँडै निर्माण कार्य थालिने आलिताल गाँउपालिकाका अध्यक्ष बलबहादुर गुरुङले  बताए ।

तालको चारै तिर सोलार वत्ती जडान गरेर ताल क्षेत्रमै बस्न मिल्ने गरी सो क्षेत्रमा पर्यटन प्रवद्र्धनका पुर्वाधारहरु विकास गरिन लागेको गाउँपालिकाले जनाएको छ । चालु आर्थिक बर्षमा सुदूरपश्चिम प्रदेश सरकारले आलिताल क्षेत्रको विकासका लागि केही रकम बिनियोजन गरेको र आलिताल गाँउपालिकाले १५ लाख बराबरको बजेटमा आलिताल क्षेत्रमा पर्यटकीय पुर्वाधार विकासका काम गरिने छ ।

  आलिताल क्षेत्रमै क्यापिङ्ग गरि रातीको समयमा समेत अवलोकन गर्न सकिने व्यवस्थापन गर्न लागिएको हो । आलिताल क्षेत्रमा यसबर्ष करिब १० वटा सोलार वत्ती जडान गर्ने काम सम्पन्न गरिने छ । तालको छेउमा चिया, कफी सप, चिसो पेय पदार्थसंगै खाना र खाजाको प्रबन्ध गरिने र पर्यटकहरुलाई राती बस्नका लागी क्याम्पहरु स्थापना गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।

आलिताललाई रातीको समयमा अवलोकनसंगै क्यापिङ्ग र फायर साईड बनाईने योजना अघि सारेको अध्यक्ष गुरुङ्गको भनाई छ । यसअघि आलिताल क्षेत्रमा पिकनिक स्पोर्टका लागी घरहरु निर्माण गरिएका छन । सुदूरपश्चिम प्रदेशकै सबैभन्दा ठुलो र मनमोहक आलितालमा हाल डुङ्गा सयर गर्न सकिन्छ । तालको चारैतिर पक्की फुटपाथ बनाईएको छ । ताल क्षेत्रमा साईकलिङ्ग पनि गर्न सकिन्छ । तालको अवलोकनका लागी भ्यूटावर पनि निर्माण गरिएको       छ ।

आलिताल धनगढी–डडेल्धुरा भिमदत्त राजमार्गको मध्य भाग डोटीको बुडरबाट करिब १८ किलोमिटर पश्चिम तर्फपर्छ । बुडर–जोगबुडा सडकको पनि मध्य भाग गोदाम बजारबाट अढाई किलोमिटरको दुरीमा रहेको आलिताल पर्यटकीय सम्भावना बोकेको गन्तब्य हो । हाल बुडर–जोगबुडा सडक कालोपत्रेको चरणमा छ । हाल आलिताल नजिकैका गाउँमा होम स्टेका योजनाहरु पनि सञ्चालन गरिएका छन । कोरोना भाईरसको संक्रमण फैलिनु पुर्व आलीतालको अवलोकन गर्न दैनिक ४०–५० जना पुग्ने गरेका थिए । लकडाउन यता भने आलिताल भ्रमण गर्नेहरुको संख्यामा कमि आएको छ ।



ट्रेन्डिङ