धनगढी
नेपाली काँग्रेसका महामन्त्री डाक्टर शशांक कोईरालाले प्रधानमन्त्री केपी ओलीले आफु हार्ने चुनाव नगराउने बताएका छन् । उनले बैशाख १७ र २७ मा तोकिएको निर्वाचन असम्भव भएको बताए ।
शनिवार सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा महामन्त्री कोईराललाले भने–‘बैशाखमा निर्वाचन भए नेकपा हार्ने निश्चित छ, त्यसैले ओलीले आफु हार्ने निर्वाचन गराउँदैनन् ।’
महामन्त्री कोईरालाले गिरीजा प्रसाद कोईरालाले २०६४ मा सम्पन्न संबिधान सभा निर्वाचन काँग्रेसले हार्ने थाहा हुदा हुदै पनि सम्पन्न गराएको स्मरण गर्दै भने–‘गिरीजाबाबुले काँग्रेसले निर्वाचन हारे पनि देश हार्नु हुदैन भनेर निर्वाचन गराए तर कम्न्युष्टहरु देश भन्दा आफुलाई प्राथमिकतामा राख्छन, त्यसैले ओलीले बैशाखमा निर्वाचन गराउँदैनन् ।’ अहिले पनि नेकपा औपचारीक रुपमा फुटिनसकेको बताउँदै कोईरालाले अदालतमा चलिरहेको मुद्धा, नेकपाको आधिकारीकताको कुरा लगायतका कारण पनि बैशाखमा चुनाव सम्भव नदेखिएको उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा बिघटन गरेर संबिधान कुल्चीएको बताउँदै महामन्त्री कोईरालाले संबिधानको रक्षाका लागि आन्दोलन गर्नुपर्ने उल्लेख गरे । उनले काँग्रेस दोधारमा नबस्ने र संबिधान बचाउन आन्दोलन गर्ने बताए । ‘काँग्रेस एक ढिक्का भएर अघि बढनुको बिकल्प छैन’ महामन्त्री कोईरालाले भने– ‘काँग्रेस एकढिक्का भएर अघि बढे अबका हरेक निर्वाचनमा काँग्रेस जित्ने र कम्न्युष्टहरु समाप्त भएर जाने छन् ।’
कार्यकर्ता भेटघाट कार्यक्रममा महामन्त्री कोईराला संगै केन्द्रिय सदस्य दिपक गिरी, बद्री पाण्डेको पनि सहभागिता रहेको थियो । उनीहरुले पनि संबिधानको रक्षाका लागि काँग्रेसले आन्दोलन गर्नुपर्ने बताए । सो अबसरमा जिल्ला स्तरका नेता तथा कार्यकर्ताले केन्द्रिय नेतृत्वले काँग्रेस निर्वाचनमा जाने हो वा आन्दोलनमा जाने हो स्पष्ट पार्नु पर्ने बताएका थिए ।