धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

रामचन्द्रलाई चुनावपछि प्रधानमन्त्री बन्न शेखरको प्रस्ताव, सभापतिमा सघाउन आग्रह

बोहोराटारस्थित पौडेलको निवासमा नेताद्वयबीच भेटवार्ता भएको थियो ।

रामचन्द्रलाई चुनावपछि प्रधानमन्त्री बन्न शेखरको प्रस्ताव, सभापतिमा सघाउन आग्रह

 

 

 

काठमाण्डौं । नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आसन्न महाधिवेशनमा आफुलाई सभापतिमा सघाउन कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसँग प्रस्ताव गरेका छन् ।

पौडेललाई प्रधानमन्त्री बन्न आग्रह गर्दै सभापतिमा आफुलाई मद्दत गर्न कोइरालाले आग्रह गरेका हुन्  ।

बोहोराटारस्थित पौडेलको निवासमा सोमवार बिहान नेताद्वयबीच भेटवार्ता भएको थियो । १४औं महाधिवेशनमा सभापतिमा उठ्ने भन्दै लामो तयारी गरेका शेखरले देउवा इतरबाट आफुलाई उम्मेदवार बनाउन प्रस्ताव गरेका हुन् ।

‘तपाईंको लामो अनुभवलाई प्रधानमन्त्री बनेर कार्यान्वयन गर्नुस्, सभापतिमा मलाई समर्थन गर्नुस्’ कोइरालाको प्रस्ताव उदृत गर्दै स्रोतले भन्यो ।

कोइरालाले २०५६ सालमा कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाउने प्रस्ताव लिएर चुनावमा गए जस्तै पौडेललाई प्रधानमन्त्री बनाउने प्रस्ताव लैजान सकिने बताएका थिए । कोइरालाको प्रस्तावमा पौडेलले कुनै जवाफ भने दिएका छैनन् ।

कांग्रेसको १४औं महाधिवेशन भदौ १६ देखि १९ सम्म काठमाडौंमा हुँदैछ ।

कोइरालाले आफु एक पटकको लागि पार्टीको नेतृत्वमा पुग्ने तर प्रधानमन्त्रीमा दाबी नगर्ने बताउँदै आएका छन् । महाधिवेशन नजिकिँदै गर्दा नेताहरूले दौडधूप र छलफललाई तीब्र बनाएका छन् ।

‘व्यक्तिभन्दा पनि हामी एक भएर अगाडि बढ्न सकेनौं भने कांग्रेस कमजोर हुन्छ र धर्मराएको लोकतन्त्रलाई बचाउन पनि कांग्रेसमा सक्षम नेतृत्व चाहिन्छ भन्नेबारे २ नेताबीच छलफल भएको छ,’ पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले भने ।

कोइराला परिवारकी अर्की सदस्य सुजाता कोइरालाले पनि सोमवार नै वरिष्ठ नेता पौडेलसँग छलफल गरेकी छन् । महाधिवेशनमा सभापतिका उठ्ने दाबी गर्दै आएकी नेत्री कोइरालाले पौडेल र पुर्व महामन्त्री कृष्ण सिटौलालाई लञ्च मिटिङमा बोलाएर छलफल गरेकी हुन् ।

मण्डिखाटारमा भएको ३ नेताको छलफलमा पनि कांग्रेसमा सक्षम नेतृत्व निर्वाचित गर्नका लागि देउवाइतर समूहबाट साझा उम्मेदवार बनाउनेबारे छलफल भएको थियो । कोइराला परिवारका अर्का सदस्य महामन्त्री डा. शशांक कोइरालाले पनि छलफललाई तीब्र बनाएका छन् ।


ट्रेन्डिङ