विश्वासको मत लिंदै प्रधानमन्त्री देउवा

विश्वासको मत लिंदै प्रधानमन्त्री देउवा

धनगढी

प्रधानमन्त्री शेरबहादुर देउवा आजै (आइतबार) प्रतिनिधि सभामा विश्वासको मत लिने भएका छन् ।

देउवाले विश्वासको मत लिनेबारेको प्रस्ताव संसद सचिवालयमा दर्ता भइसकेको प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले बताए । संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले एक महिनाभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ ।

तर प्रधानमन्त्री शेरबहादुर देउवाले भने प्रधानमन्त्री बनेको ५ दिनमै विश्वासको मत लिनलागेका हुन् ।

सर्वोच्च अदालतको परामदेशपछि नेपाली कांग्रेसका सभापति देउवा असार २९ गते प्रधानमन्त्री बनेका थिए ।

नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरूको समर्थनमा प्रधानमन्त्री बनेका देउवाले पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठकमै विश्वासको मत लिने तयारी गरेका हुन् ।

यसअघि गत वैशाख २७ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत पाएका थिएनन् ।

पुनर्स्थापित प्रतिनिधि सभाको बैठक आइतबार अपरान्ह ४ बजेका लागि बोलाइएको छ । प्रतिनिधि सभा नियमावलीमा प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्ताव दर्ता गराएपछि सभामुखले समय र मिति तोक्ने व्यवस्था छ ।