एमाले गुण्डा दल होइनः ओली

एमाले गुण्डा दल होइनः ओली

धनगढी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले गुण्डा दल नभई देश विकास गर्ने जिम्मेवार पार्टी भएको बताएका छन् । उनले एमाले परिपक्व राजनीतिक पार्टी भएको बताए ।

अखिल नेपाल महिला संघले आइतबार गरेको भर्चुअल कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमाले कुनै गुण्डा दल नभई परिपक्क राजनीतिक पार्टी भएको र एमालेले मात्रै देशको मुहार फेर्न सक्ने जिकिर गरे ।

उनले देशको धेरै जनसंख्या एमालेको पक्षमा रहेको बताए । एमालेको पक्षमा धेरै जनसंखया हुँदाहुँदै पनि केही मानिसले आफूविरूद्ध मुख छाडेर अनेक लेखिने छोडेका छैनन् उनले भने–‘ ‘केपी ओलीलाई मुख छाडेर कसैले जीविका चलाउँछ भने म खुसी नै हुन्छु ।

उनले पार्टीभित्रका अन्तरघातीलाई नङ्ग्याउनुपर्ने पनि बताए । पार्टीलाई ध्वस्त पार्न खोज्नेबाट जोगाउनु पर्ने उनको भनाइ थियो । स्वार्थको किनबेचबाट भन्दा पनि विचार र सिद्धान्तमा केन्द्रित भई अनुशासनमा बाँधिएको अग्रगामी शक्ति एमाले भएको उनले बताए ।

उनले प्रतिक्रियावादीसँग भित्री साँठगाँठ गरेर आफ्नै सरकार ढाल्ने, पार्टी फुटाएर सजिलो बनाइदिएका घटना पनि आफूहरूले देखिरहेको ओलीको भनाइ छ ।

उनले पार्टीको पक्षमा उभिन पनि आग्रह गरेका छन् । बाटो बिराएर गएकालाई फर्केर आउन उनले आग्रह गरेका छन् ।