धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सत्तारुढ गठबन्धनले उपसभामुख  जसपालाई दिने

सत्तारुढ गठबन्धनले उपसभामुख  जसपालाई दिने

काठमाण्डौं । सत्तारुढ गठबन्धनमा जनता समाजवादी पार्टी (जसपा) लाई दिने समझदारी बनेको छ । मन्त्रीहरुको टुंगो लगाउने बेलामा नै  सत्तारुढ गठबन्धन दलहरुका बीचमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी (जसपा) बीच छिट्टै उपसभामुख चयन गर्ने र उपसभामुख जसपालाई दिने सहमति बनेको नेताहरुले बताएका छन् । २०७६ माघ ६ गते शिवमाया तुम्बाहाङ्फेले उपसभामुखबाट राजीनामा दिएयता सो पद रिक्त छ ।

प्रतिनिधि सभाको सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था छ । हाल नेकपा माओवादीका अग्नि सापकोटा सभामुख छन् ।

जसपाका एक नेताका अनुसार मन्त्रालय भागबण्डाको टुंगो लगाउँदा नै उपसभामुख जसपालाई दिने समझदारी भएको हो । पटकपटक बसेको शीर्ष नेता सहितको बैठकमा यसबारे छलफल भएको उनले बताए ।

‘जसपालाई उपसभामुख दिन गठबन्धनमा सहमति जुटिसकेको छ,’ उपेन्द्र यादव निकट ती नेताले भने ।  उनका अनुसार जसपाभित्र समेत यसबारेमा छलफल भइरहेको छ ।

जसपाका ती नेताले भने प्रदेश १ र बागमतीमा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने सहमति बनेकै बेला जसपालाई उपसभामुख दिने समझदारी बनेको दाबी गरे । 

नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले पनि शीर्ष नेताहरुबीच जसपाको सम्मानजनक उपस्थितिका विषयमा समझदारी बनेको बताए ।

केपी शर्मा ओली नेतृत्वको सरकार ढालेर देउवा नेतृत्वमा नयाँ सरकार बनाउन सबै पार्टीको भूमिका महत्वपूर्ण भएकैले जसपालाई असन्तुष्ट बनाउन नहुने गरी र सबैले जित्ने गरी समझदारी बनेको महरा बताउँछन् ।


ट्रेन्डिङ