धनगढी
११ बर्षअघि सीमा सुरक्षाका लागि कैलालीको भजनी बजार क्षेत्रमा स्थापना गरिएको सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) आइतबार सीमा नाकामै स्थानान्तरण भएको छ । कैलालीको मध्य दक्षिणी क्षेत्रको भजनीमा भारतसँग धेरै आवतजावत हुने भजनी नगरपालिका वडा नम्बर ५ मा रहेको गुलरिया घाटमा सशस्त्र प्रहरीको बीओपी स्थानान्तरण भएको हो ।
सशस्त्र द्धन्द्धकालमा स्थापना भएको सशस्त्र प्रहरीले शान्ति स्थापनापछि सीमा सुरक्षाको समेत जिम्मा पाएपछि २०६५ मा कैलालीको मध्य दक्षिणी क्षेत्रमा सीमा सुरक्षा लागि भजनी बजार क्षेत्रमा सशस्त्रको बीओपी स्थापना गरिएको थियो ।
कोरोना भाइरसको प्रकोप बढेपछि सीमामा सशस्त्रको उपस्थिति बढाउने सरकारको निर्णयसँगै बजारमा रहेको बीओपी सीमामा स्थानान्तरण भएको हो । कोरोनाको कहर शुरु भएपछि भजनी नगरपालिकाको कुसुमघाट र हलौना घाटमा सशस्त्र प्रहरीका दुई बीओपी स्थापना भैसकेका छन् ।
स्थानान्तरण कार्यक्रममा सशस्त्र प्रहरीका सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशंकर बुढाथोकीले सीमामा खटिएको सशस्त्रको टोलीलाई श्रोत साधनमा कुनै कमी नरहने उल्लेख गर्दै स्थानीय वासिन्दाको सहयोग आवश्यक रहेको बताए ।
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बीओपी स्थानान्तरण भएकै ठाउँमा भन्सार कार्यालय स्थापनाका लागि आफुले पहल गर्ने बताए ।
भजनी नगरपालिकाका मेयर शेर बहादुर चौधरीले सुरक्षामा खटिने प्रहरीका लागि आवश्यक सहयोग गर्न नगरपालिका तयार रहेका बताए ।
संघीय सँसदका पुर्व सदस्य हरि श्रीपाइलीले सीमाको सुरक्षाका साथै स्थानीय वासिन्दाको सहजतामा पनि सीमामा खटिने प्रहरीले ध्यान दिन आवश्यक रहेको बताए ।
सशस्त्र प्रहरी बल ३४ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक कमल तिउसिनाले सीमामा सशस्त्रको उपस्थिति बढेसँगै सीमामा अवैध कारोवारमा कमी आएको बताए ।
दिपेन्द्र मल्लले सँचालन गरेको उक्त कार्यक्रममा भजनी वडा नम्बर ५ का अध्यक्ष केशब बुढा, नेकपाका रतन रेग्मी र नेपाली काँग्रेसका बीर बहादुर हमालले मन्तव्य व्यक्त गरेका थिए ।