धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

नागरिक उन्मुक्तिका रेशम र लक्ष्मणको उम्मेदवारी खारेज

नागरिक उन्मुक्तिका रेशम र लक्ष्मणको उम्मेदवारी खारेज

धनगढी । प्रतिनिधि सभा सभा सदस्यका लागि नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दिएका रेशमलाल चौेधरी र लक्ष्मण चौधरीको  उम्मेदवारी खारेज भएको छ । दुवै जनाको उम्मेदवारीमा उजुरी परेपछि निर्वाचन अधिकृतको कार्यालयले दुवै जनाको उम्मेदवारी मंगलबार खारेज गरेको हो  ।

रेशमले बर्दियाका निर्वाचन क्षेत्र नम्बर २ र लक्ष्मणले कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका थिए ।

 टीकापुर घटनामा अदालतबाट दोषी ठहर भएर कैद सजाय काटिरहेका रेशम चौधरी र फरार रहेका लक्ष्मण थारुको उम्मेदवारी खारेज भएको हो ।

७ भदौ २०७२ मा सुरक्षाकर्मीसहित ९ जनाको ज्यान जाने गरी कैलालीको टीकापुरमा हिंसात्मक झडप भएको थियो । यो घटनामा संलग्नताको अभियोग लागेका चौधरीलाई कैलाली जिल्ला अदालतले जन्मकैद र थारुलाई ३ वर्ष कैदको सजाय सुनाएको थियो । तर उच्च अदालत डोटीले चौधरी र थारु दुबैलाई जन्मकैदको सजाय सुनाएको थियो ।

फौजदारी मुद्दामा दोषी ठहर भएको व्यक्ति उम्मेदवार भएको भन्दै परेको उजुरीमाथि सुनुवाइ गर्दै निर्वाचन अधिकृतको कार्यालयले दुबैको उम्मेदवारी खारेज गरेको हो ।

बर्दिया–२ का निर्वाचन अधिकृत नगेन्द्र लम्सालले निरन्तर कैदमा रहेका व्यक्ति कैदमा रहँदासम्म उम्मेदवार हुन नसक्ने कानुनी व्यवस्था भएकाले रेशमको उम्मेदवारी खारेज भएको बताए ।

‘उहाँ २०७४ फागुन १४ देखि निरन्तर कैदमा रहेको भनी डिल्लीबजार कारागारले हामीलाई पत्र दिएको छ, उच्च अदालत डोटीबाट पनि उहाँ दोषी ठहर भएको पत्र दिएको छ’ उनले भने, ‘उहाँ प्रतिनिधिसभा निर्वाचन ऐन २०७४ को दफा १३ (झ) अनुसार उम्मेदवार हुन अयोग्य हुनुभयो ।’

कैलाली–५ का उम्मेदवार लक्ष्मण थारु पनि फौजदारी मुद्दामा जन्मकैदको सजाय पाएको व्यक्ति भएको भन्दै निर्वाचन अधिकृत ओमप्रकाश अर्यालले उम्मेदवारी खारेजीको निर्णय गरेका हुन् ।

रेशमविरुद्ध बर्दिया–२ का माओवादी केन्द्रका उम्मेदवार सुरेश पन्थले र लक्ष्मण विरुद्ध कैलाली–५ का स्वतन्त्र उम्मेदवार रामबहादुर सिंहले उजुरी दिएका थिए ।

 


ट्रेन्डिङ